मोरङ : मोरङमा गत साउनयता एक सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षको हालसम्म एक सय ९८ जना फरार प्रतिवादी पक्राउ पर्दा ५३ वर्ष २ महिना ५ दिन कैद र ३५ लाख ५३ हजार ३ सय ६४ रुपैयाँ जरिवाना असुल गरिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अपराधमा संलग्नहरू दोषी ठहर भएपनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका थिए ।
फरार प्रतिवादीहरूलाई पक्राउ गर्नका लागि जिल्लाभर विशेष अभियान चलाइएको जानकारी उनले बताए । पछिल्लो दुई दिनयता मात्रै जिल्लाका विभिन्न स्थानबाट १५ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ परेकाहरू चोरी, लुटपाट, वन पैदावार ओसारपसार, बहुविवाह, सार्वजनिक अपराध र चलन हटक मुद्दामा दोषी ठहर भएका प्रतिवादी हुन् ।
अदालतले दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेको भएपनि भुक्तान नगरिकन भागिरहेकाहरूलाई इलाका प्रहरी कार्यालय रानी, बेलबारी तथा प्रहरी चौकी कटहरीको टोलीले मंगलबार र बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीहरूलाई प्रहरीले अदालतमा बुझाउने गरेको छ ।












Discussion about this post