इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताहरूले फण्डा गरेको आरोप गरेका छन् ।
इटहरीमा बिहीबार पत्रकार सम्मेलन गदै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन् ।
बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताए ।
इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिन–छिनमा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रूपमा मात्र बजारमा ल्याएको बताए ।
नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए ।
राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधबारको नगरसभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर, पार्टीको ह्वीपमा उनीहरूले नगरसभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।
कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ ।
‘हामी कर घटाउने पक्षमा छौँ, बारम्बार भन्दै आएका छौ । तर, एमालेले भने अहिलेसम्म दोहोर चरित्र मात्र देखाएको छ,’ पौडेलले भने ।
इटहरीमा एमालेले जनमानसमा भ्रम छरिरहेको उनको भनाइ छ । ‘इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरूलाई एमालेले आफ्नो संगठन चलाउन खोजेजस्तो गरिरहेका छन्,’ उनले भने, ‘म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ । म इटहरी बनाउन आएको मानिस हुँ ।’
उनले सस्तो लोकप्रियताका लागि धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेको बताए ।
इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुखसहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुखसहित ६ जना नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै, १०४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली कांग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।














Discussion about this post