झापा : झापाबाट तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार फरार रहेका तीन जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झुटा विवरण पेश गरी नेपाली नागरिकता बनाइदिने मुद्दाका दमक ५ घर भइ हाल मेचीनगर १ बस्ने ३८ वर्षीय पुष्पलाल भन्ने पुष्प अधिकारी, सवारी ज्यान मुद्दाका कचनकवल ४ का ४७ वर्षीय साजनलाल भन्ने अर्जुनलाल राजवंशी र ज्यान मार्ने उद्योग मुद्दामा दमक ३ घर भइ हाल दमक २ बस्ने २३ वर्षीय शम्भु लिम्बू रहेका छन् ।
झुटा विवरण पेश गरी नेपाली नागरिकता बनाउने मुद्दाका अधिकारीलाई २ वर्ष कैद एक लाख जरिवाना फैसला भएपनि उनी फरार थिए ।
त्यस्तै, राजवंशी मिति २०७९÷०९÷२५ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ४ वर्ष कैद ५२ हजार जरिवाना र पीडित राहत कोषमा २ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भइ फरार रहेका थिए ।
यस्तै, लिम्बूलाई मिति २०८०÷०३÷२९ गतेको फैसलाअनुसार ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवाना र पीडित राहत कोषमा ५० हजार जम्मा गर्नुपर्ने फैसला भइ फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।
उनीहरूलाई अदालतको आदेशअनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post