इटहरी : एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले कला, प्रविधि तथा विविधतासम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उद्घाटन गरेको प्रदर्शनीमा एसओएसका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विविध प्रस्तुति राखेका थिए ।
प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय बढी प्रस्तुति राखेका थिए । अभिभावकहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् स्थानीयले समेत प्रदर्शनी अवलोकन गरेका थिए ।
कला र प्रविधिको सुन्दर संयोजनले नै जीवन सार्थक हुने अबको युगलाई विद्यार्थीहरूले प्रदर्शनीमार्फत सम्बोधन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी आचार्यले विद्यार्थीहरूको प्रशंसा गरे ।
सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक बनाउन सिकाउने उद्देश्यले हरेक साल आयोजना गरिने यो कार्यक्रमले विद्यार्थीहरूलाई स्वरोजगार र सीपयुक्त बनाउन सहयोग पुर्याएको विद्यालयका निमित्त प्रधानाध्यापक शशीकुमार उपाध्यायले बताए ।
प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यस खालको कार्यक्रम आयोजना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्रामका निर्देशक देवचरण चौधरीले जनाए ।
‘विद्यालय तहमा यस खाले प्रदर्शनी कमै हुन्छन्, भएका पनि यत्तिको गुणात्मक र विषयक्षेत्रसँग सम्बन्धित विरलै हुन्छन् ।’ बाह्य परीवेक्षकका रूपमा सहभागी राजन ढकालले बताए । अबको शिक्षा जीवनोपयोगी र प्रयोगशील हुनुपर्ने कुरा एसओएसबाट सबैले सिक्नुपर्ने उनको भनाइ छ ।
‘लिखित परीक्षाबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरिने हुँदा वैयक्तिक प्रतिभाको खोजी नै नगर्ने हाम्रो शिक्षानीति तथा अभ्यास छ’, कार्यक्रमका संयोजक भेषराज गौतमले भने, ‘ यसमा सुधार गर्दै अबका दिनमा यस खाले प्रदर्शनीले स्वरोजगार र सीपमूलक बनाउने, स्वदेशमै केही उपार्जन गर्न मद्दत पुग्ने हुँदा यस्तो अभ्यास सबैले गर्नुपर्छ ।’
हर्मन माइनर विद्यालय इटहरीसहित देशभर सात ठाउँमा सञ्चालनमा छन् ।
अभिभावकविहीन तथा अभिभावक हेरचाहविहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिइरहेको एसओएस विद्यालय विश्वका १३५ देशमा सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक तथा समुदायका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post