Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

फूलैफूलको सहर धरान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८०
in समाचार
0
फूलैफूलको सहर धरान
86
SHARES
Share on FacebookShare on Twitter

धरान : केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ ।

लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।

धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि भन्ने गरेका छन् । धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलनै छ । अहिले त सडकको छेउछाउ र खोलाको किनारमा पनि फूल रोप्ने अभियान नै सञ्चालन भइरहेको छ । धरानका नगर प्रमुख हर्कराज राईले सञ्चालन गरेको श्रमदान अभियानमार्फत सर्दुखोलाको बगर र डाँडाकाँडामा हजारौँ बोटबिरुवा रोपिएका छन् ।

धरानमा त्यस्ता घर छैनन्, जहाँ कुनै फूल वा बिरुवा नहोस् । यहाँका सुकुम्बासी बस्तीदेखि लाहुरे बस्तीसम्म फूलैफूल भेटिन्छन् । फरक यति हो, आफ्नो क्षमताअनुसार कसैले दुई चार बोट रोपेका छन्, त कसैले बगैँचा नै बनाएका छन् । कतिपय त फूललाई सौखका रुपमा रोप्दारोप्दै व्यवसायी बनेर राम्रो आम्दानी पनि गरिरहेका छन् ।

सामाजिक अभियन्ताका रुपमा परिचित धरान उपमहानगरपालिका–११ की शिवमाया बान्तवाको घर फूल र बोटबिरुवाले ढाकिएको छ । कतै बगानबेली, कतै लालुपाते त कतै विभिन्न रङ्गीचङ्गी फूल रोप्नुभएकी शिवमायाले घरभित्र पनि उसैगरी इन्डोर प्लान्टले सजाउनुभएको छ । सौखले फूल र बिरुवा रोप्न थाल्नुभएकी उहाँ ती फूलहरुलाई आफ्नै सन्तान झैँ स्याहार्नुहुन्छ ।

शिवमायाले फूल र बिरुवालाई यति धेरै माया गर्नुको बेग्लै कथा छ । १७ वर्ष काम गरेको गोरखा सहकारीको जागिर चटक्क छाड्दा उहाँमा के गरौँ, कसो गरौँ भयो । डिप्रेसनमा जाने अवस्था भएपछि उहाँ आफ्नै घरमा फूल र बिरुवासँग रमाउन थाल्नुभयो । “फूलहरुको स्याहार गर्दागर्दै तिनीहरुको माया लाग्न थाल्यो । बजार जाँदा होस् या साथीको घर जाँदा फूल र बिरुवामै आँखा पर्न थाले”, उहाँ भन्नुहुन्छ, “फूलकै कारण डिप्रेसन हुन पाएन, उनीहरु मेरा साथी जस्ता भए । अहिले यिनीहरुसँग छुट्नै नसक्ने भएकी छु ।”

सुरुमा सोखका रुपमा फूल रोप्नुभएको शिवमायाले मन परेका फूल र बिरुवा जम्मा गर्दागर्दै घर भरियो । बिरुवा बनाएर छिमेकी र चिनेजानेका धेरैलाई बाँड्नु पनि भयो । तर आफूले सित्तैमा बाँडेका फूलको स्याहार नभएको देखेर उहाँको मन दुख्यो । उहाँ भन्नुहुन्छ, ‘मैले बाँडेका फूल हेर्न जाँदा त कोही मरिसकेको, कोही त्यतिकै फ्याँकेको देखेँ । मान्छेले पैसा परेको चिजलाई मात्र महत्व दिँदारहेछन् भन्ने सोच आयो । त्यसपछि सित्तैंमा बाँड्न छाडेँ । फूल माग्नेसँग पैसा लिन थालेँ ।’

फूल बेचेको पैसालाई उहाँले फूल र बिरुवामै लगानी गर्दै जानुभयो । यसो गर्दागर्दै उहाँ फूलको सौखिनबाट व्यवसायी बन्नुभयो । २०७२ सालबाट त उहाँले फूलसँगै ड्राइगन फ्रुटका बिरुवा बेच्न थाल्नुभयो । कोरोना महामारीपछिको बन्दाबन्दीका बेला मात्र आफूले १५ लाख रुपियाँको बिरुवा बेचेको उहाँ बताउनुहुन्छ । शिवमायाले पाँच वर्षयता त ‘फ्लावर जोन एन्ड पट हाउस’ नामको नर्सरी नै खोलेर फूलको व्यवसाय गरिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला सौखका रुपमा रोपेका फूलले अहिले राम्रो आम्दानी भएको छ । नर्सरीमा आएर मात्र होइन, फेसबुकलगायतका सामाजिक सञ्जालबाट पनि बिक्री गरिरहेकी छु । धेरै धरानेहरु म जस्तै फूलका सौखिन छन् ।”

धरानका युवा चित्रकार युमेनहाङ राई पनि पहिलादेखि नै फूलका सौखिन हुनुहुन्थ्यो । फूल सङ्कलन गर्दा गर्दै अहिले उहाँले पनि अहिले धरान–२० मा एभरेष्ट नर्सरी खोल्नुभएको छ । कोरोना महामारीले धेरैको व्यापार व्यवसाय चौपट भएकाबेला उहाँले चाहिँ आफूले सङ्कलन गरेका फूलहरुलाई नर्सरीको रुप दिनुभयो । अहिले उहाँको नर्सरीमा सय रुपियाँदेखि ७० हजार रुपियाँसम्म मूल्यका फूल तथा बिरुवा किन्न पाइन्छ । उहाँ भन्नुहुन्छ, “धरानमा घरघरमै फूलको बगैँचा छ भन्दा हुन्छ । यो बगैँचाको सहर हो ।”

धरानमा सौखले फूल रोप्ने त धेरै झन्, सौखबाटै व्यवसायी बन्नेहरुको सङ्ख्या पनि बढिरहेको छ । धरान–१९ का विश्व लिम्बू अफ्रिकी सजावटका फूल सङ्कलन गर्दागर्दै व्यवसायी बन्नुभएको छ । छ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहनुभएका उहाँ विदेशबाट पनि सजावटका बिरुवाहरु मगाउने र आफैँ पनि उत्पादन गरेर बिक्री गरिरहेको बताउनुहुन्छ । धरान–८ का गौरव लिम्बूले पनि भर्खरै वनेम नर्सरी खोलेर विक्री वितरण गरिरहनुभएको छ ।

धरान उपमहानगरपालिकाको लगानीमा भानुचोकदेखि छाताचोकसम्मको मुख्य सडकको दायाँबाँया फलामको रेलिङमा गमला राखेर फूल रोपिएका छन् । यसले पनि धरानको सुन्दरता बढाएको छ । धरानवासीको फूलसँगको सामीप्यकै कारण धरानलाई फूलको सहर, बगैंचाको सहर भनेरसमेत चिन्ने गरिन्छ । माथि विजयपुर डाँडाबाट हेर्दा धरान बगैंचाभित्र घरैघर भएको शहर जस्तो देखिन्छ ।

धरानवासीको फूलप्रतिको उत्साह देखेर धरान उपमहानगरपालिकाले एक दशकअघि नै धरानलाई फूलैफूलको शहर बनाउने अभियान चलाएको थियो । नागरिकलाई फूलप्रति आकर्षण मात्र होइन, व्यावसायिक पनि बनाउने उद्देश्यले उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइएको थियो ।

उपमहानगरपालिकाका पूर्व सामाजिक विकास अधिकृत सुनिल नेपाल घरमा राम्रोसँग फूलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएपछि नागरिकले फूललाई अझ व्यवस्थित रुपमा रोप्न र व्यावसायिक बन्न थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ ‘‘फूलबाट औषधीहरु पनि बन्छन्, सबैतिर फाइदैफाइदा छ, त्यसैले धरानलाई फूलैफूलको शहरका रुपमा विकास गर्ने योजना ल्याइएको थियो ।’’

धरानका नगरप्रमुख हर्कराज राईले पनि धरानलाई फूलैफूलको सहर बनाउने भन्दै वृक्षरोपण अभियानलाई निरन्तरता दिइरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “यसपटक हामीले सडकको छेउ र खोलाका किनारमा रोपेका फूल धमाधम फुलिरहेका छन् । यसले पर्यटक पनि आकर्षण गर्छ । फूल र बोटबिरुवा धरानको चिनारी बनाउने अभियान छ हाम्रो ।”

करोडौँको कारोबार

धरानमा व्यावसायिकरुपमा फूल र बिरुवा बेच्ने नर्सरी दुई दर्जन हाराहारी छन् । त्यसबाहेक अनलाOनमार्फत फुल बेच्नेहरुको सङ्ख्या पनि ठूलो छ । नर्सरीहरुको कारोबार मात्र हिसाब गर्दा पनि वार्षिक तीन करोड रुपlयाँभन्दा बढीको फूल बिक्री हुने गरेको व्यवसायीहरुको भनाइ छ ।

बुढासुब्बा नर्सरीका सञ्चालक प्रेमप्रसाद पराजुली पूर्वमा सबैभन्दा बढी धरानमै फूल विक्री हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धरानका पाँच छ वटा नर्सरीले दिनमा ३० हजार हाराहारीको फूल बेच्छन्, अरुले पनि दिनमा कम्तीमा रु पाँचदेखि आठ हजार रुपियाँको बेच्छन् । घरघरबाटै र अनलाइनबाट बेच्नेको हिसाबै छैन ।”

धरानका क्यामेलिया, एञ्जिला, पवित्रजस्ता पुराना नर्सरीले फूलको राम्रो कारोबार गरिरहेका छन् । पवित्र नर्सरीकी सञ्चालिका प्रमिला राई १६ वर्षदेखि नर्सरीबाटै परिवार धानिरहेको बताउनुहुन्छ । धरानका नर्सरीहरु आफू मात्र आत्मनिर्भर छैनन्, धेरैलाई रोजगारी दिएका छन् । कतिपयले आफ्नै परिवार मिलेर फूलको व्यवसाय सञ्चालन गरिरहेका छन् भने धेरैले पाँच सातदेखि २५ जनासम्मलाई रोजगारी पनि दिएका छन् ।

व्यवसायीको गुनासो

फूल र बोटबिरुवा रोप्दा एकातिर वातावरणका लागि फाइदा छ भने अर्कातिर व्यावसायिकरुपमा पनि यो व्यवसाय राम्रो बनिरहेको छ । तर, यसमा लागेका व्यवसायीहरु बाहिरबाट फूल ल्याएर बिक्री गर्न झन्झटिलो प्रक्रियाका कारण समस्या भएको बताउँछन् । व्यवसायी युमेनहाङ राई नर्सरीहरुलाई व्यवसायमा दर्ता गर्नुपर्ने प्रावधानले पनि समस्या भएको बताउनुहुन्छ । यसलाई कृषि उत्पादनका रुपमा सरकारले सहयोग गर्नुपर्ने उहाँको धारणा छ । फूल र बिरुवा उत्पादकहरुलाई सरकारी सहयोग पाउन पनि अप्ठ्यारो मापदण्डका कारण कठिनाइ भएको उहाँको भनाइ छ ।

फूल व्यवसायी शिवमाया बान्तवा पनि फूलको खेती र व्यवसाय गर्नेभन्दा राजनीतिक प्रभाव राख्नसक्नेले अनुदान पाउने गरेको तर वास्तविक फूल व्यवसायी मारमा परेको बताउनुहुन्छ । सरकारी निकायले वास्तविक फूल किसान र व्यवसायीलाई सहयोग गर्नुपर्ने उहाँको धारणा छ । अर्का व्यवसायी प्रेमप्रसाद पराजुली फूलबाट सबैलाई फाइदै फाइदा देख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “फूलखेती र व्यवसायले सहर पनि सुन्दर देखिन्छ, व्यापार पनि राम्रो हुन्छ । यसलाई सरकारले प्रोत्साहन गर्ने हो भने पर्यटनको विकासमा पनि ठूलो योगदान पुग्न सक्छ ।”

Tags: #धरान#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    986 shares
    Share 394 Tweet 247
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.