इटहरी : पहिलो स्कुल लेभल नेशनल तेक्वान्दो च्याम्पियनसिप २०८० मा इटहरीको कस्तुरी एकेडेमीबाट प्रतिनिधित्व गर्ने तीन खेलाडीले पदक जित्न सफल भएका छन् ।
विद्यार्थीहरूका लागि पहिलोपटक आयोजना गरिएको फागुन १ गते देखि ५ गते सम्म जारी प्रतियोगितामा इटहरीबाट प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा सहभागी भएका तीन खेलाडीले पदक जित्न सफल भएका हुन् ।
ललितपुरको सातदोबाटोस्थित एकेडेमीमा बिहीबार भएको पुम्से विधाको अण्डर ११ को व्यक्तिगततर्फ सुहाना लिम्बूले दोस्रो हुँदै सिल्भर पदक भएकी छन् ।
त्यस्तै, अण्डर ११ को डबलतर्फ अभि भट्टराई र विशेषता सत्यालको जोडी तेस्रो हुँदै ब्रोजन पदक जित्न सफल भएका हुन् ।
दुवै प्रतिस्पर्धामा विद्यार्थीहरूले पदक जित्न सफलभएको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिए ।
पुम्सेको अण्डर ११ व्यक्तिगततर्फ सुप्रिम शिव बाबा स्कुलका छिरिङ पाल्मु शेर्पा प्रथम भइन् भने गोदावरी आवासियकी एरिन महर्जन र विजेश्वरी ज्ञान मन्दिरकी सिम्रन तामाङ तेस्रो भइन् ।
यस्तै, पुम्सेको अण्डर ११ डबलतर्फ सुप्रिम शिव बाबा स्कुलका तृसा घ्याबा र छिरिङ पाल्मु शेर्पा प्रथम भएका थिए । फ्यारील्याण्ड इन्टरनेशनल स्कुलका कृपाखपाङ्गी र श्रवण मगरको जोडी दोस्रो भएको थियो ।
प्रतियोगितामा भाग लिन कस्तुरी एकेडेमीका चारजना खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताका विभिन्न विधामा देशभरबाट करिव एक हजार बढि विद्यार्थीहरूले भाग लिएका थिए ।
Discussion about this post