बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाले आइतबार बाङ्गे बजारमा अनुगमन गरेको छ ।
उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमन गरिएको हो । नगरपालिकाको अनुगमन टोलीले बाङ्गे बजारका पसलहरू अनुगमन गरेको आर्थिक विकास शाखाका प्रमुख मात्रिका तिवारीले बताए ।
अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद गुज्रेका खाद्य सामाग्री पाइएको उनले बताए । बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट, नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक लगाएका सामाग्रीहरू फेला पारेर नष्ट गरिएको तिवारीले बताए ।
म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसलहरूमा पाँच हजारसम्म जरिवानासमेत गरिएको थियो ।
बजारबाट उपभोक्ताहरूले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।
उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।
नगर उपप्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मल्ल, आर्थिक विकास शाखाका प्रमुख तिवारी, उद्योग वाणिज्य सङ्घ बराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, उपभोक्ता मञ्चका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरीलगायतको सहभागिता रहेको थियो ।














Discussion about this post