इटहरी : बुधबार दिउँसो उदासलाग्दो हावा चलिरहेको छ । हिउँद सकिन लागेजस्तोगरी घाम लागिरहेको छ । घाम न न्यानो छ, न रापलाग्दो नै । इटहरी उपमहानगरपालिका ५ काव्यबाटिका नजिकै भेला भएका स्थानीय छरछिमेकी तथा आफन्तजन भने भावविह्ल छन् ।
घटना हो, चार दिन अघिको । चारदिनअघि ट्रकको ठक्करबाट इटहरी ५ का ३० वर्षीय केदार भनिने रोबिङ्ग राईको निधन भयो ।
ना ६ ख ६५७५ नम्बरको मालबाहक ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रहेका उनको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु भएको चारदिनपछि बुधबार (आज) उनको अन्त्येष्टि गरिएको छ ।
रोबिङ्गको परिवारमा अनौठो तर दुःखद् संयोग परेको छ । रोबिङ्गको निधनसँगै उनका बाबुआमाले दुई छोरा र दुई बुहारीको दुर्घटनामै ज्यान गुमाउनुपरेको दुःखद् घटना भोगिरहेका छन् ।
करिब पाँच वर्षअघि खड्गबहादुर राई र सरनी राईले कान्छी बुहारीलाई गुमाए । पारिवारिक स्रोतका अनुसार कान्छी बुहारी जित्नी चौधरीले घरको पूर्वपट्टीको कोठामा आत्महत्या गरिन् । उक्त घटनाले परिवारलाई बज्रपात प¥यो ।
त्यसबेला जित्नीका श्रीमान अर्थात् खड्गबहादुरका कान्छा छोरा घनश्याम राई वैदेशिक रोजगारीमा थिए ।
‘वैदेशिक रोजगारीकै क्रममा रहँदा भिडियो कलमा बोलिरहँदा अचानक उनकी श्रीमती (जिन्ती)ले आत्महत्या गरिछन्,’ एक छिमेकीले टाकुरा न्यूजसँग भने, ‘कान्छी बुहारीले आत्महत्या गरेपछि यो परिवारले अरु तीनजनालाई सवारी दुर्घटनामै गुमायो । यो हामी सबैका लागि दर्दनाक छ ।’
खड्गबहादुरको परिवारले कान्छी बुहारीलाई गुमाएसँगै कान्छा छोरालाई सवारी दुर्घटनामै गुमायो । श्रीमतीको मृत्युपछि विरिक्तिएर वैदेशिक रोजगारीबाट फर्किएका घनश्याम घरमै थिए ।
एकदिन इटहरी चोकबाट घर फर्कने क्रममा उनको इटहरीस्थित पश्चिम लाइनमा रहेको ट्राफिक प्रहरी कार्यालय नजिकै मोटरसाइकल दुर्घटनामा ज्यान गयो । बुहारी गुमाएको शोक बिर्सन नपाउँदै खड्गबहादुर परिवारले कान्छो छोरा गुमाउनुपर्दा बज्रपातले थिच्यो ।
कान्छो छोरा र बुहारीलाई गुमाएको भुल्न नपाउँदै परिवारले फेरि माइली बुहारीलाई दुर्घटनामै गुमायो । माइली बुहारी अनु भण्डारीको पनि केही वर्षअघि इटहरी पश्चिम लाइनस्थित कलंकी भन्ने ठाउँनजिकै दुर्घटनामा निधन भयो । स्रोतका अनुसार उनको म्याजिक भ्यानको ठक्करबाट निधन भएको हो ।
एक छोरा र दुई बुहारी गुमाएको यो परिवार बिस्तारै सम्हालिने प्रयास गर्दैथियो । तर, चार दिनअघिको घटना कानमा पर्नेबित्तिकै रोबिङ्गकी आमा अचेतजस्तै बनिन् । बुबा खड्गबहादुर पनि झस्किए । उनी आफैँ अशक्त छन् ।
प्यारालाइसिसका बिरामी रहेका खड्गबहादुर स्पष्टसँग बोल्नलाई नै गाह्रो हुन्छ । तर, जेठा छोराको निधन पाएसँगै उनी पनि बेचैन बने ।
![](https://takuranews.com/wp-content/uploads/2024/02/shok.jpg)
रोबिङ्गको पनि इटहरी पश्चिम लाइनमा रहेको खाद्य गोदाम नकिजै दुर्घटनामा मृत्यु भयो ।
‘कस्तो दुःखद् संयोग भने कान्छा छोरा, माइली बुहारी र जेठा छोराको एकै स्थानमा (नजिकैको दूरीमा) दुर्घटना भयो,’ छिमेकीहरू भन्दैथिए, ‘तीनैजनाको दुई सय मिटर फरकको अन्तरालमा निधन भयो । यो अत्यन्तै दर्दनाक घटना भयो ।’
पारिवारिक स्रोतका अनुसार तीनजनाको सवारी दुर्घटनामा पूर्व–पश्चिम राजमार्गको इटहरी–पचरुखी सडकखण्डमा तर दुई सय मिटरको फरकमै दुर्घटना हुनु र निधन हुनुले स्थानीयबासी नै घटनाबारे आश्चर्यमा छन् । साल र महिना फरक भएपनि तीनैजनाको मृत्यु क्रमशः ११, १२ र १३ गते भएको छिमेकीहरू बताउँछन् ।
‘घनश्यामको ११ गते, अनुको १२ गते र रोबिङ्गको १३ गते मृत्यु भयो । यो त क्रमैसँग मृत्यु आएजस्तो भयो,’ आँखाभरी आँसु पार्दै छिमेकीहरू भन्छन् ।
विभिन्न वर्षहरूमा एकै घरमा भएका यी घटनाले परिवारमा बज्रपात त छ नै, छरिछिमेकीहरू पनि बिक्षिप्त छन् । मृतक रोबिङ्गले केही समयअघि मात्रै विवाह गरेका हुन् । उनकी श्रीमती केही महिनाअघि मात्रै अमेरिका गएकी छन् । रोबिङ्ग पनि अमेरिका जाने तयारीमा थिए । त्यससँगै उनी इटहरीमै होटल व्यवसायसमेत गर्दै आएका थिए ।
खड्गबहादुर र सरनीका माइला छोरा प्रकाश पनि वैदेशिक रोजगारीमा कुबेतमा थिए । अब यो परिवारको सहारा प्रकाश मात्रै बाँकी रहेका छन् । जेठी बुहारी रोबिङ्गकी श्रीमती अमेरिकामा भएका कारण अब प्रकाश मात्रै परिवारको एक्लो सहारा बनेका छन् ।
दुई छोरा र दुई बुहारीलाई गुमाएपछि सम्हालिनै नसक्ने पीर परेको यो परिवारलाई स्थानीयबासीलेसमेत बिर्सन नसक्ने घटना भएको बताउँछन्, स्थानीय अमित दाहाल ।
‘बुबालाई केही वर्षअघि प्रेसरले हानेको थियो । अहिले प्यारालाइसिसका कारण राम्ररी बोल्नपनि सक्नुहुन्न,’ दाहाल भन्छन्, ‘एउटै घरका चार–चार जनालाई वर्सेनिजसरी गुमाउनुपर्दा हामी आफैं बिक्षिप्त बनेका छौँ ।’
Discussion about this post