इटहरी : आज महाशिवरात्री । यस अवसरमा आज देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौँको पशुपति क्षेत्रसहित देशका विभिन्न भागमा रहेका शिवालयमा भक्तजनको घुइँचो लागेको हो।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्री पूजा अर्चनाका मुख्य अंक मानिन्छन् भने शिवरात्रीको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ। शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवम् निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा छ।साथै मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ।
वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् भन्ने धार्मिक विश्वास छ।
Discussion about this post