झापा : झापाको गौरादह नगरपालिका ७ योगिटारकी ८२ वर्षीया बृद्धा नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २६ गतेदेखि घरैबाट हराएकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते (बुधबार) बृद्धाको शव फेला परेको थियो ।
गाडेको अवस्थामा शव फेला परेसँगै घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोलीले घटनामा संलग्न रहेका दुईजनालाई बुधबार नै पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतककै नाती १८ वर्षीय धीरज विश्वकर्मा र स्थानीय १८ वर्षीय राजु मल्लिक रहेका छन् ।
लागूऔषध गाँजा सेवन गरी धीरजले रातको २ बजेको समयमा हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउको पछाडि प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रड प्रहारबाट बृद्धाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
बृद्धाको मृत्यु भएपश्चात मल्लिकको समेत सहयोगमा घर नजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post