विराटनगर : विराटनगरमा घरको शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास शुक्रबार विराटनगर महानगरपालिका ४ स्थित कोठा बसेको घरको शौचालयमा मृत अवस्थामा भेटिएकी थिइन् ।
घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको अवस्थामा भेटिएपछि प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उनको हत्या भएको जनाएको छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास नोबेल अस्पतालमा काम गर्दै आएकी थिइन् । उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने यकिन भइसकेको छैन । यद्यपि, अनुसन्धानका क्रममा ती नर्सका प्रेमीको संलग्ता रहेको हुन सक्ने आशंका गरिएको छ ।
घटनापछि उनका प्रेमी भनिएका सिरहाका अमिन नामका युवक सम्पर्कविहीन छन् । प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ । उनका साथीहरूले ती युवक दासका प्रेमी भएको जानकारी गराएका थिए ।
विभिन्न प्रसंगहरूका कारण घटनामा युवतीका प्रेमी संलग्न भएको हुन सक्ने प्रहरीले अनुमान गरेको हो । प्रेमी भनिएका अमिनको मोबाइल नम्बरबाट ती नर्सका साथीलाई म्यासेज गरिएको पाइएको छ ।
म्यासेजमा आफूले हत्या गरेको उल्लेख गर्दै बीभत्स अवस्थाको नर्सको शवको फोटो पनि पठाइएको प्रहरीको भनाइ छ ।
दास बसेकै घरमा रहेका उनका साथीहरू पनि नर्स हुन् । ह्वाट्सएपको माध्यमबाट आफूलाई त्यस्तो म्यासेज आएपछि उनीहरूले घरधनीलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे प्रहरीमा सूचना पुगेको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ । घटनामा कसको संलग्नता छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेपनि उनले अनुसन्धानपछि वास्तविकता सार्वजनिक गरिने उल्लेख गरे ।
पोस्टमार्टम रिपोर्ट र घटनाबारे भइरहेको अनुसन्धान अगाडि बढाएपछि घटनामा संलग्न व्यक्ति पत्ता लाग्ने उनको भनाइ छ ।













Discussion about this post