धरान : धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शुक्रबार (आज) इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलनमार्फत घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पक्राउ पर्नेमा धरान १६ का १९ वर्षीय सविन भनिने बाबुराम भुजेल रहेका छन् । उनलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
‘घटनास्थलमा उनीहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि युवकले योजना अनुसार नै खुकुरी लिएर गएका थिए,’ एसपी रेग्मीले भने, ‘सोही खुकुरीले घाँटी रेटेर हत्या गरी खोल्सामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
भुजेललाई प्रहरीले धनकुटा नगरपालिका वडा नं ९ स्थित मुलघाटमा लुकिछिपी रहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनको साथबाट सुमनाले प्रयोग गर्ने मोबाइल पनि बरामद गरेको छ ।
बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो ।
सुमना अर्कै केटासँग नजिकिएको पत्ता लागेपछि हत्या गर्ने नियतले नै बाबुरामले खुकुरी बोकेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।
उनका अनुसार उनीहरूबीच २ वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको थियो । तर, गत पुसमा भने सुमनाले ग्लोबल ओरियन्स धरानमा काम गर्न थालेपछिसोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् ।
सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवाद बढ्दै गएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको र प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए ।
साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीको निष्कर्ष छ ।
घटनामा संलग्न रहेको आशंकामा अन्य पाँचजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, बाबुराम मुख्य दोषी रहेकाले उनलाई सार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।
यो पनि – धरानमा घाँटी रेटेर हत्या गरिएको घटनामा ६ जना पक्राउ, आज सार्वजनिक गरिदैँ
यो पनि – धरानमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो
Discussion about this post