इटहरी : इटहरीको ‘ड्रिम प्रोजेक्ट’को रूपमा रहेको आकासे पुल र आधुनिक सभाहल निर्माण हुने भएको छ ।
लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकासे पुल र इटहरी सभा गृह निर्माणको प्रक्रिया अगाडि बढेको छ । यसअघि इटहरीमा आकासे पुल बन्ने भन्दै ‘आहा इटहरी’को रूपमा चर्चा भएको थियो ।
इटहरीको मुख्य बजार क्षेत्रमा यात्रुहरूलाई बाटो काट्न सजिलो बनाउन बढी भीडभाड हुने २ स्थानमा आकासे पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।
इटहरीको मुख्य चौक देखि उत्तरतर्फ धरान रोडमा सङ्गीत चौकबाट बाटो क्रस गरी पारी आकेश कलेक्सन छेउ ओर्लने गरी आकाशे पुल निर्माण गरिने भएको हो ।
त्यस्तै, मुख्य चौकबाट दक्षिणतर्फ गोल्डेन चौकमा अर्को आकासे पुल निर्माण हुनेछ । इटहरी उपमहानगरपालिकाले दुई स्थानमा आकाशे पुल निर्माण गर्न फागुन १८ गते रिजेन्सी विल्र्डससँग ठेक्का सम्झौता गरेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
२ वटा पुल निर्माणका लागि उपमहानगरपालिकाले ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।
जसमा ४ करोड ५१ लाख ६३ हजार ७५२ रुपैयाँ प्रस्ताव गर्ने रिेजेन्सी विल्डर्ससँग उपमहानगरले निर्माणको सम्झौता गरेको छ ।
सम्झौता भएको मितिले एक वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने उपमहानगरले जनाएको छ ।
बढ्दो सवारी चापले इटहरीमा ट्रफिक व्यवस्थापन गर्न समस्या छ । सवारी चापले गर्दा पैदल यात्रुहरूलाई रोड क्रस गर्न समस्या हुने गरेको छ ।
सवारी व्यवस्थापन ट्राफिक लाइट सुरु भएको छ । तर त्यसले पैदल यात्रुको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सडक वारपार गर्ने यात्रुको कारण सवारी सञ्चालनमा पनि समस्या छ ।
बन्न लागेको आकासे पुलले यात्रुहरूलाई सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेल बताउँछन् ।
ट्राफिक लाइट हुँदा पनि यात्रुहरूलाई बाटो क्रस गर्न समस्या भइरहेको अवस्थामा आकासे पुल निर्माण भए अझ सहज हुने उनको भनाइ छ । केही दिनपछि आकासे पुल निर्माणको शिलान्यास गरिने उपमहानगरले जनाएको छ ।
तोकिएको समयमै निर्माण पुरा हुन सके करिब ६ वर्षअघि पूर्व सांसद सर्वध्वज साँवाले ‘आहा इटहरी’ भन्दै इटहरीमा आकासे पुल बनाउने भनेर देखाएको सपना पूरा हुने विश्वास लिएको उपमहानगरले जनाएको छ ।
ड्रिम प्रोजेक्ट : आधुनिक सभा हल
इटहरी सहरमा व्यवस्थित सभा हल छैन । सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । व्यवस्थित सभा हल बनाउनुपर्ने माग अघिल्लो कार्यकालबाट नै सुरु भएको हो ।
नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । सुविधा सम्पन्न थिएटर निर्माण गर्नुपर्ने रङ्गकर्मी तथा कलाकर्मीहरूको माग पनि तीव्र छ ।
इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माण गर्ने भएको छ ।
बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण गर्न इटहरी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको छ । इटहरी उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर जीवन घिमिरेले बताए ।
उपमहानगरपालिकाको वडा न. ५ स्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकपटकमा पाँच सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ ।
काव्य वाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर घिमिरेले जानकारी दिए ।
३ तलाको भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’को सभा हल निर्माण हुनेछ । ‘तीन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो,’ उनले भने ।
यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए । निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने घिमिरेले बताए ।
योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इन्जिनियर घिमिरेको भनाइ छ ।
निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठूला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको भनाइ छ । ठूला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ ।
सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।
आवेदन परेका मध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ ।
नगर स्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीका लागि निकै चासो पूर्वक हेरिएका ठूला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।
उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकासे पुल र आधुनिक सभा हललाई चाँडै शिलान्यास गरिने पौडेलले बताए । यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने उनको दाबी छ ।
आकासे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठूलो आवश्यकताका योजना पनि हुन् । यी योजनाहरूलाई इटहरीबासीले लामो समयदेखि माग गरिरहेका छन् ।
सहरको आवश्यकता देखिएका योजनाहरू निर्माण सुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीबासीमा थोरै आशा थप्न सकिने जानकारहरू बताउँछन् ।
भिडियो
– ADVT












Discussion about this post