विराटनगर : विराटनगर महानगरपालिका अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालनमा ल्याइएको छ ।
भौतिक विकाससँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको महानगरले विराटनगर–१५ स्थित रानी अस्पतालमा एकपछि अर्को सेवा विस्तार गरिरहेको छ । केही महिना अगाडिबाट फिजियोथेरापी सञ्चालनमा ल्याएको महानगरले सोही अस्पतालमा भिडियो एक्स–रे सेवा पनि सुरु गरेको हो ।
महानगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भिडियो एक्स–रे सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले बताए । अहिले स्वास्थ्य बिमामार्फतबाट पनि भिडियो एक्स–रे गरिने जानकारी दिए । यसबाट महानगरबासीलाई धेरै राहत महसुस गर्ने मेयर कोइरालाले दाबी गरे ।
उनकाअनुसार कोशी अस्पतालमा भन्दा कम शुल्कमा भिडियो एक्स–रे गरिनेछ । स्वास्थ्य बिमा नगरेका सेवाग्राहीका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको मेयर कोइरालाले जानकारी दिए ।
“महानगरवासीलाई थोरै भएपनि राहत होस् भनेर हामीले कोशी अस्पतालको शुल्कभन्दा पनि कम लिने निर्णय गरेका छौं । प्राइभेट अस्पतालको त कुरै छाडौं,” मेयर कोइरालाले भने, “बिमा गरेका महानगरवासीलाई त अझै ठूलो राहत मिल्नेछ ।”
महानगरले रानी हेल्थपोष्टलाई स्तरोन्नती गरी अस्पतालका रूपमा सञ्चालन गरेको थियो । सो अस्पतालबाट दक्ष चिकित्सकसहित १७ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
अस्पतालबाट दैनिक ओपीडीसहित परिवार नियोजन, मातृशिशुलगायतका सेवा दिइरहेको अस्पतालका प्रमुख मानिकचन्द भगतले जानकारी दिए ।
यसबाहेक नेपाल सरकारले वितरण गर्ने औषधिसमेत निःशुल्क रूपमा प्रदान गरिने भगतले बताए । अब चाँडै नै प्रसूति र डिजिटल एक्स–रे सेवासमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।













Discussion about this post