विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर ३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गरेका छन् ।
सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिए ।
कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न निर्देशन दिए ।
वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहेका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
महानगरसित भएको तीनवटै दमकल चुस्तदुरुस्त रहेको पौडेलले बताए ।
महानगरसित ५ हजार लिटर क्षमताको दुईवटा र ३ हजार क्षमताको एउटा दमकल रहेको छ । जसमा ५ हजार लिटरका दुईवटा पुष्पलाल चोकमा राख्ने गरिएको छ भने ३ हजार लिटरको विराटनगर १४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको उनले जानकारी दिए ।
महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारीमाई स्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलाल चोक, महानगर परिसर, सन्सारीमाई स्थानबाट दमकलमा पानी भर्ने गरिएको छ ।
महानगर क्षेत्रभित्र ७–८ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइरहेको मेयर कोइरालाले जानकारी दिए ।
अनुगमनका क्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो ।
Discussion about this post