विराटनगर : विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निरौला कार्कीले लागूऔषध नियन्त्रणका लागि महानगरले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएकी छन् ।
रिकभरिङ नेपाल कोशी प्रदेश पदाधिकारी र महानगरको न्यायिक समितिसँगको छलफलमा उपमेयर कार्कीले लागूऔषध प्रयोग गर्न नदिन युवाहरूलाई सचेतनामूलक कार्यक्रमदेखि रोजगारीसँग जोड्न सीपमूलक तालिमसमेत सञ्चालन गरिरहेको बताइन् ।
लागूऔषध प्रयोग गर्ने व्यक्तिको स्वास्थ्यमा समस्या आउने र समाजले समेत नकारात्मक दृष्टिकोणले हेर्ने भएकाले लागूऔषध प्रयोग गर्नु हानीकारक रहेको उनले बताइन् ।
लागूऔषधका कारण अपराधसमेत बढ्ने गरेको उनको भनाइ छ । महानगरका तर्फबाट विभिन्न सीपमूलक तालिम सञ्चालन, प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उपमेयर कार्कीले बताइन् ।
चालू आर्थिक वर्षमा विभिन्न वडाले लागूऔषधसँग सम्बन्धित कार्यक्रममार्फत २५ लाख रुपैयाँ खर्च गरेकोसमेत उनको भनाइ छ ।
युवालाई रोजगारीसित जोड्न सके लागूऔषधको प्रयोग घटाउन सकिने दाबी गरिन् ।
कार्यक्रममा रिकभरिङ नेपाल कोशी प्रदेश अध्यक्ष चन्द्र बरालले स्थानीय तहले लागूऔषध नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरू बढ्दै गएकोमा उनको चिन्ता थियो ।
महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया, उपमेयरका स्वकीय सचिव निश्चल मायालु, रिकभरिङका प्रदेश उपाध्यक्ष सञ्जीव चापागाईं, केन्द्रीय सदस्य सुशील रिजाल, फोकल प्रर्सन निष्मा नेपाललगायतले लागूऔषध प्रयोगले पारिवारिक र सामाजिक जीवनमा पार्ने प्रभावका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।












Discussion about this post