विराटनगर : विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।
विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।
विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गरे ।
उनले भने, ‘यो कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।’ सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो ।
ब्लाङ्केट, छाता, हर्सिस, फलफूल प्रदान गरेर मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान गरे । वडाभित्र बसोबास गर्ने एक सयजनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए । कार्यक्रममा मेयर कोइरालाले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको उनको जिकिर छ । अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्न जरुरी रहेको उनको भनाइ थियो ।
Discussion about this post