विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गैरसंवैधानिक अभ्यास नगर्न आग्रह गर्दै प्रदेश प्रमुखलाई पत्र लेखेका छन् ।
मंगलबार प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आशयपत्र बुझाएका हुन् । मुख्यमन्त्री कार्कीविरुद्ध गत वैशाख ७ गते कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित भएको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको मितिले ३० दिनभित्र विश्वासको मत लिन वा राजीनामा दिई मार्गप्रशस्त गर्न नेकपा एमालेसहितको विपक्षी गठबन्धनको उक्त प्रस्ताव बहुमतले पारित भएको थियो । तर त्यो प्रश्ताव संविधानबमोजिम नरहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशप्रमुख खापुङलाई जानकारीपत्र बुझाएका हुन्।
कार्की संविधानको धारा १६८ (५) अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री बनेका थिए । पछिल्लो पटक केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि माओवादी र एमालेले उनलाई हटाउने प्रयास गर्दै चैत २६ मा समर्थन फिर्ता लिएका थिए ।
त्यसपछि प्रदेशसभाको वैशाख ६ गते भएको विशेष अधिवेशनमार्फत वैशाख २५ भित्र विश्वासको मत लिन वा राजीनामा दिन निर्देशन दिने संकल्प प्रस्ताव समेत पास गराएका थिए ।
तर मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संविधान विपरीत भएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका छन् । राष्ट्रपतिलाई समेत बोधार्थ राखिएको जानकारी पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (५ं) को विकल्पमा १६८ (२) वा १६८ (३) को सरकार बन्न नसक्ने विषय पनि उल्लेख गरिएको छ।
यस्तै नेपालको संविधान को धारा १८८ को उपधारा ४ को प्रतिवन्धात्मक वाक्यांशलाई प्रदेशसभाको संकल्प प्रस्तावले निस्तेज बनाउन नसक्ने तथा प्रदेशसभाबाट सूचना संप्रेषण गर्ने भनी प्रदेश प्रमुखसमक्ष निर्देशन गर्न नमिल्ने विषय पनि पत्रमार्फत स्पष्ट पार्ने प्रयास गरिएको छ।
यस्तो छ पत्र















Discussion about this post