मोरङ : मोरङमा मोरङमा अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरेको घटना बाहिरिएको छ ।
जिल्लाको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेसँगै उक्त घटनाको रहस्य बाहिरिएको हो ।
हत्या आरोपमा शिशुकी आमा पक्राउ परेकी हुन् । शिशुका बाबु भने पत्ता नलागेकाले शिशुका बाबुको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका १ सातबोटेकी २६ वर्षीया अस्मिता राईलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
अस्मिताले शिशु जन्माएर हत्या गरी फ्यालेको उनले बताए । पुरुषसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी उनले छोरा जन्माएर हत्या गरेको प्रहरीको भनाइ छ ।
डीएसपी बस्नेतका अनुसार घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएको र त्यसपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको हो । कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको डीएसपी बस्नेतले बताए ।
उनका अनुसार सुत्केरी अवस्थाकी अस्मितालाई नियन्त्रणमा लिएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । अस्मिताको स्वास्थ्य अवस्था कमजोर रहेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध मंगलबार जाहेरी परेको छ ।
‘घटनाका बारेमा धेरै कुरा बुझ्न र सोधपुछ गर्न पाइएको छैन,’ डीएसपी बस्नेतले भने, ‘अस्पतालले डिस्चार्ज दिएपछि अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने छ । अनुसन्धानपछि घटनाका सम्बन्धमा थप प्रष्ट हुन्छ ।’
उनका अनुसार शिशुको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको छ ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीले जनाएको छ ।













Discussion about this post