विराटनगर : मानव बेचबिखन तथा ओसारपसारका एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १८ का ५१ वर्षीय दिनेश मण्डल रहेका छन् । लामो समय भारतमा बसेर विराटनगर आएका उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
मोरङको साविकको बुधनगर गाविस १ (हालको विराटनगर महानगरपालिका–१८)का मण्डललाई आज (मंगलबार) बिहान ११ बजेतिर पक्राउ गरेको हो ।
आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएलगत्तै फरार भएका उनी लामो समयसम्म लुकिछिपी भारतमा बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार घटना निक्कै पुरानो भइसकेकाले आफू कानुनी कारबाहीमा नपर्ने ठानेर मण्डल विराटनगर आएको समयमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार हिँड्दै गरेको अवस्थामा विराटनगर १७ स्थित विराटनगर जुट मिल्स नजिकबाट पक्राउ गरिएको हो ।
एक जना महिलालाई २०५१ साल साउन १० गते भारतको कटिहार जिल्लाको डरेवर टोलको वेश्यालयमा लगेर बिक्री गरेको आरोप मण्डलमाथि छ । पीडित भनिएकी महिलाले नै उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
लत्ताकपडा किन्नलाई भनी भारतको फारबिसगन्ज लगेपछि लड्डु खान दिएर बेहोस बनाउँदै आफूलाई कटिहारको डरेवर टोलको वेश्यालयमा पुर्याइ साथमा भएका गरगहना तथा नगद सबै लिएर मण्डल फरार भएको पीडित महिलाले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख छ ।
उक्त वेश्यालयबाट केही समयपछि भागेर आफू नेपाल आउन सफल भएको महिलाले जाहेरीमा खुलाएकी छन् । तर, ३० वर्षदेखि फरार रहेका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन ।
डीएसपी बस्नेतले मण्डलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन मोरङ अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको बताए ।
Discussion about this post