विराटनगर : विराटनगर महानगरपालिकाले पशुपालक किसानका लागि परजीवि नियन्त्रणका लागि औषधी वितरण गरेको छ ।
महानगरको पशुपंक्षी शाखाले वडा नम्बर १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवि नियन्त्रणसम्बन्धी औषधी वितरण गरेको हो ।
पशुको गोबर जाँच गरी आन्तरिक परजीवि नियन्त्रणका लागि निःशुल्क रूपमा औषधी वितरण गरिएको शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
सो क्षेत्रमा किसानले पशुपालन गर्दै आएका छन् । उनीहरूलाई गाई, भैंसी र बाख्रा व्यावसायिक रुपमै पाल्दै आएका छन् । जसबाट किसानले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।
आन्तरिक परजीविका कारण उत्पादनमा किसानले ठूलो नोक्सानी खेप्दै आएकाले औषधी वितरण गरिएको हो । परजीवि नियन्त्रणको औषधि सेवनले उत्पादनमा वृद्धि हुने शाखा प्रमुख यादवको दाबी छ ।
वडाध्यक्ष जितेन्द्रकुमार साहको समेत उपस्थितिमा भएको कार्यक्रममा ७६ घरपरिवारका दुई सय ३५ वटा पशुवस्तुलाई परजीविको निःशुल्क औषधी वितरण गरिएको पशुपंक्षी शाखाका गणेश पौडेलले जानकारी दिए ।
पशुका लागि आयोजित शिविरमा शाखाकी डा. सरहाना सुवेदीले चेकजाँच गरेकी थिइन् । महानगरमा दर्ता भएका ४० वटा पशु कृषि फर्मलाई समेत परजीवि नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको बताइएको छ ।
यस वर्ष एक सय २१ जना किसानलाई हिउँदे र वर्षे घाँसको बिऊसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए ।
एक सय महिला बाख्रा कृषक समूहलाई पनि आन्तरिक र बाह्य परजीवि नियन्त्रणको औषधि वितरण गरिएको छ ।
Discussion about this post