विरटनगर : सुनसरीको दुहवी घर भएका एक जना युवकको विराटनगरमा हत्या भएको छ । सुनसरीको दुहवी नगरपालिका १२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका ४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । रामलोचन अक्लेशका ठुलोबुवा रहेको प्रहरीले जनाएको छ ।
ठुलीआमाकी छोरी (बहिनी)को बिहेमा आएका बेला विराटनगर ४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको बस्नेतको भनाइ छ ।
अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन् ।
डीएसपी बस्नेतका अनुसार बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको पाइएको छ । उनीहरू बीचमा भएको विवादको कारण भने अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर सिकिस्त बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अक्लेशको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरेर शवलाई अन्त्येष्टिका लागि परिवारको जिम्मा लगाइएको छ।
हत्यापछि तत्काल फरार बनेका गणेशलाई सुनसरीको लौकहीबाट दिउँसो २:३० बजेतिर पक्राउ गरिएको छ।
‘हत्या गरेर फरार बनेका युवकले भारततिर भाग्ने योजना बनाएका रहेछन्,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘त्यही बेला नियन्त्रणमा लिन प्रहरी सफल भएको हो।’
गणेशको खोजीका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरबाट र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली परिचालन गरिएको थियो। घटनामा संलग्न गणेशविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।













Discussion about this post