नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई शुक्रबार राति प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसलगत्तै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।
ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरूसँग छलफल गरेका थिए ।
यसैबीच नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्ति अघि नै सांसदहरूलाई प्रधानमन्त्रीको शपथमा सहभागी हुन निम्तोसमेत दिइसकेको थियो।
Discussion about this post