इटहरी : इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।
असार १० गते नगरसभामा इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए । सोही आकारमा बजेट पारित भएको हो ।
असार १० गते सोमबार राति प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्तसम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको हो ।
उपमेयर सङ्गीता चौधरीले असन्तुष्टि देखाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका हुन् । यस अघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागीता जनाएका हुन् ।
पारित भएको बजेटमा संघीय समानीकरण अनुदान २९ करोड ५६ लाख, संघीय सशर्त अनुदान चालूतर्फ ४९ करोड ४३ लाख र संघीय सशर्त अनुदान पुँजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै, संघीय समपूरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।
प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालूखर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च र्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।
संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।
चालू खर्चतर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ ।
वित्तीय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५ प्रतिशत) खर्च गर्ने बजेटमा उल्लेख छ । जसमध्ये विषयगत तर्फ ३० करोड, वडा सीमातर्फ ३८ करोड, नगरस्तरीय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।














Discussion about this post