इटहरी : ‘सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस’को अवसरमा खुल्ला कविता प्रतियोगिता आयोजना हुने भएको छ ।
सहिद–मनोज–झपेन्द्र स्मृति प्रतिष्ठान र एकीकृत सरकारी कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा आगामी साउन १५ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताका लागि कविता आह्वान गरिएको छ ।
प्रतियोगिताका लागि इच्छुक कविहरूले साउन १३ गतेसम्म कविता पठाउन सकिने एकीकृत सरकारी कर्मचारी संगठन नेपालका महासचिव प्रकाश राईले जानकारी दिए ।
अन्यत्र कुनै प्रतियोगितामा सहभागी नभएका कविताहरू समावेश गरिने आयोजकको तयारी छ ।
काठमाडौँमा प्रतियोगिता आयोजना हुनेछ र स्थान भने पछि तय गरिने महासचिव राईले बताए । उनका अनुसार छनौट भएका कविताहरूलाई मात्रै प्रतियोगितामा समावेश गराइनेछ । छनौट भएका कविहरूलाई फोन वा इमेलमार्फत जानकारी गराइने उनले बताए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र प्रोत्साहन पुरस्कार क्रमशः १५ हजार, १० हजार, सात हजार र तीन हजारसहित प्रमाणपत्र रहेको छ ।
‘प्रतियोगितामा छनौट भएका सबै कविताहरू सहिद मनोज–झपेन्द्र स्मृति प्रतिष्ठानको स्मारिकामा प्रकाशन गरिनेछ,’ महासचिव राईले भने, ‘यो कार्यक्रमले कर्मचारीहरूलाई प्रत्यक्ष जनतासँग जोडिन सहज हुने अपेक्षा लिएका छौँ ।’
उनले कर्मचारीतन्त्रलाई चिडियाखानाको बाघजस्तो जनताले ठान्ने गरेको बताउँदै उक्त प्रतियोगिताले कर्मचारीहरू जनताको मनोभावनासँग जोडिने र सम्बन्ध थप सुमधुर हुने बताए ।
कविता पठाउनका निम्ति poemp2599@gmail.com मा पठाउनु पर्नेछ । हार्डकपी बुझाउने कविहरूले एकीकृत सरकारी कर्मचारी संगठन, नेपालको शहरी विकास विभाग परिसर बबहरमहल स्थित केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्ने बताइएको छ ।
थप जानकारीका लागि हरिकाजी राई ९८४१२८६१३५ र शोभा अधिकारी पराजुली ९८४१७६२५५१ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।














Discussion about this post