इटहरी : कोशी प्रदेश सरकारले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले यसअघि राजपत्रमै प्रकाशित गरी मंगलबार रथयात्राको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
संघीय सरकारले दिएको बिदा बाहेक प्रदेश सरकारले ६ दिन बिदा दिन पाउँछ । जसअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने भएकाले कोशी प्रदेश सरकारले बिदा दिएको हो ।
गत वैशाखअघि नै राजपत्रमा बिदाबारे उल्लेख छ । खासगरी अपर्झट बाहेक अरू समयमा सूचना प्रकाशित नगर्ने र राजपत्रमा उल्लेख भएको बिदा नै कार्यान्वयन गरिने कोशी प्रदेश सरकारले जनाएको छ ।
यो बिदा नियमित बिदा अन्तर्गत रहेको जनाइएको छ । मंगलबार कोशी प्रदेशका जिल्ला प्रशासन कार्यालयहरूबाट दिइने नागरिकता र राहदानी सेवाबाहेक सम्पूर्ण सरकारी सेवाहरू बन्द रहनेछन् ।
गृह मन्त्रालयको निर्णयअनुसार दसैं र तिहार बिदाबाहेक अरू सबै बिदामा नागरिकता र राहदानी सेवा भने सञ्चालनमा रहने गरेको छ ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने रथयात्रा ९३ वर्षदेखि निरन्तर आयोजना भइरहेको छ ।
कोशी प्रदेशमा सबैभन्दा ठूलो रथयात्रा आयोजना हुने ठाउँ नै विराटनगर हो । पछिल्ला केही वर्ष यता विराटनगरबाहेक सुनसरी, झापालगायतका स्थानमा रथयात्रा निकाल्ने गरिएको छ ।













Discussion about this post