विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न अझ केही दिन लाग्ने बताएका छन् ।
आज (बुधबार) विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले तीज पछि मात्रै सरकार विस्तार हुने जानकारी दिए ।
उनले कांग्रेसलाई सरकार विस्तारको लागि गति बढाउन सुझाव दिए । उनले भने, ‘काँग्रेसको हिँडाइ विस्तारै भयो, गति बढाउनुहोस् ।’
मुख्यमन्त्री कार्कीले कांग्रेसकै कारणले सरकार विस्तारमा ढिलाइ भएको बताए । सरकार विस्तारमा ढिलाइ हुँदा सरकारको काममा पनि असर परेको बताउँदै जतिसक्दो चाँडो सरकार विस्तार हुन्छ, त्यति सरकारले गति लिने बताए ।
अहिलेको सरकार शासकीय सुधारतर्फ लागेको र विकासका योजनाहरूलाई तीव्र गति दिइने बताए । एक फरक प्रसङ्गमा कार्कीले सरकारका बारेमा नमीठो बोल्यो भनेर कसैसँग लाप्पा खेल्न जान नहुने टिप्पणी गरे ।
उनले भने, ‘अमर्यादित बोल्ने, तथ्य बिना बोल्नेसँग केही गर्न सकिँदैन, हामी हाम्रो काम विश्वासिलो ढंगले गरेर अगाडि बढ्छौँ । कसैले नमिठो बोल्यो भन्दैमा लाप्पा खेल्न जाने कुरा भएन ।’
सरकार गतिशील र व्यवस्थित ढंगले अगाडि बढिसकेको सन्दर्भमा कसले के भन्यो त्यतातिर जाने नभइ काम गर्न लागि पर्ने उनको दाबी छ ।
Discussion about this post