इटहरी : इटहरीमा काम गरेको रकम उपमहानगरपालिकाले भुक्तानी नदिएपछि विरोध गरिएको छ । सर्वसाधारणहरूले शनिबार (आज) इटहरी उपमहानगरपालिका गेट अगाडि कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् ।
काम सम्पन्न गरेपनि भुक्तानी नपाएपछि उपभोक्ताहरूको संघर्ष समिति बनाएर उपमहानगरअगाडि विरोध प्रदर्शन गरेको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१।८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।
उपभोक्ता समितिलाई उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनले बताए ।
उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्ण पौडेलसँग जिज्ञासा राख्दा उपमहानगरसँग बजेट नभएको प्रतिक्रिया आएका कारण विरोध गर्न बाध्य भएको उनको भनाइ छ ।
श्रेष्ठले भने, ‘उपभोक्ताहरूले पाउनुपर्ने करिब १९ करोड ५० लाख बराबरको रकम ७२ घण्टाभित्र भुक्तानी प्रक्रिया सुरु नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुनेछौँ ।’
७२ घण्टाभित्र रकम भुक्तानीको प्रक्रिया नगरे चरणबद्ध आन्दोलन गरिने उनले जनाए ।
Discussion about this post