हरेक बिहान सूर्योदयसँगै आशाको किरण पनि घरको कोठासम्मै आइपुग्छ । यसैक्रममा दिनहरू ढल्किदै, रातहरू बित्दै आशा अहिले १३ वर्षकी भइन् । घरमा उनका दाजु र बहिनी पनि छन् । उनीहरू घरको काममा आमालाई सहयोग गर्छन् । विद्यालय पनि जान्छन् ।
आशा भने घरको त्यो कुनाबाहेकको संसार अनुभव गर्न पाएकी छैनन् । उनी शारीरिक अपाङ्गता अति अशक्त अपाङ्गताभित्र पर्छिन् । उनलाई बाहिर हिँडडुल गर्न मन लाग्छ । दाजु, बहिनी विद्यालय गएको आँखाले नियालिरहन्छिन् ।
आमा मेला, बजार, विवाहजस्ता कार्यक्रममा जाने कुराको साह्रै छिटो निधो पाउँछिन् । तर, आजसम्म उनी घर बाहिर निस्किन पाएकी छैनन् । बाहिर निकाल्यो भने चकचक गर्ने र फोहोर गर्ने भन्ने आरोप लागेर उनलाई कोठाभित्रै मात्र सीमित गराइन्छ ।
खासगरी हरेक बालबालिकाको अधिकार शुनिश्चित छ । बाल दिवसको अवसरमा बालअधिकारको लागि विभिन्न ठाउँमा भाषण सुनिन्छन्, तर आशाका कानसम्म पुग्न सक्दैनन् । आशाका बुबा पनि एक बुझ्ने व्यक्ति नै हुन् । उनी आफू पनि भाषणमा बाल अधिकार शुनिश्चित हुनुपर्ने अभिव्यक्ति दिन्छन् । तर, आफ्नै सन्तान आशाका बारे भने उनी पनि मूकदर्शकजस्तै छन् ।
आशाले आजसम्म सम्मान पूर्वक बाँचेको क्षण छैनन् । उनलाई घरभित्रै पनि अनेकौं उपनामले सम्बोधन गरिन्छ । उस्तै समयमा घरका सबै जना बाहिर जानु पर्दा आशालाई कोठामै बाहिरबाट ढोका थुनिन्छ ।
आशा बोल्न सक्छिन्, बाहिरी संसार देख्न सक्छिन् । उनी अरु जस्तो हिँड्न मात्र सक्दिनन् । उनका हजारौं रहरहरू एउटै कुनामा पोको पारेर थन्क्याउन पर्छ।
विद्यालय गइरहेका दाजु बहिनी आशा नजिक आएर खेल्न चाहँदैनन् । नजिक बसेर पढ्न मन गर्दैनन् । उनी दाजु बहिनीले पढेको सुन्न सक्छिन् । आशा त्यही पढेको सुनेर बाह्रखरी सबै भन्न सक्छिन् ।
आफू हिँड्नका लागि अनेकौं कोसिस गर्छिन् । तर, उनको कम्मरदेखि तलको भाग चल्न सक्दैन । उनका लागि पनि आएका बालदिवस १३ वटा भए । उनका लागि पनि भाषण गरिएको यतिका वर्ष भयो । तर, आजसम्म उनी आँगनको डिलमा बसेर बिहानीको घामको स्पर्श लिन पाएकी छैनन् ।
उनी पनि एउटी बालिका हुन भन्ने अनुभव गर्न पाएकी छैनन् । हरेक वर्ष भाद्र २९ बाल दिवस मनाए झैँ यो वर्ष पनि आशाका दाजु बहिनी पढ्ने विद्यालयमा बाल दिवस मनाइयो । त्यहाँ धेरै कुराहरू सुनिए ।
हरेक बालबालिकाको अधिकारको कुराहरू सुनाइए । बालअधिकार हनन भए, बालशोषण गरेको भए कहाँ खबर गर्नेजस्ता कुराहरू पनि भए । उनको विद्यालयमा पनि बालदिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता थियो । जहाँ आशाका दाजु पनि प्रतियोगी थिए ।
आजको वक्तृत्वकला शीर्षक अपाङ्गता र बाल दिवस थियो।
जहाँ आशाका दाजु प्रथम भएका थिए । उनले अपाङ्गताको बारेमा धेरै कुराहरू राखेका थिए । उनी प्रथम भएको खुसी घरमा पनि छायो । तर, यसबारे आशा बेखबर छिन्, बेखबर भएरै एउटा कोठाभित्र बन्धक भएर जीवन बाँचिरहेकी छिन् ।
(यो कथा वास्तविक हो । तर, यहाँ प्रतीकात्मक जसरी प्रस्तुत गरी अपाङ्गता भएका बालबालिकालाई हिंसा नगरौँ भन्ने सन्देश दिन खोजिएको हो ।)
Discussion about this post