मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा अविरल वर्षाका कारण बाढीपहिरोका कारण सडक, पुललगायतमा भएको क्षतिलाई दसैँ अगाडि मर्मत सम्भार गरिने बताएका छन् ।
नेकपा (एमाले) प्रदेश समितिका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश समिति अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीद्वारा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएका हुन् ।
उनले असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट मृतकप्रति श्रद्धाञ्जली, बेपत्ताको उद्धार, खोजी, घाइेतको निःशुल्क उपचार र राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण आएपछि सम्बन्धित मन्त्रालयले दसैँ अगाडि गर्नसक्ने मर्मत सम्भार कार्य तत्काल गर्न निर्देशन दिइएको बताए ।
उनले प्रदेश सरकारप्रति जनताको विश्वास एवं अनुभूति जागृत गराउन सडक, पुललगायत निर्माण कार्य दु्रत रुपमा गर्न सम्बन्धित मन्त्रालय एवं निकायलाई निर्देशन दिइएको जानकारी दिए । नेपाल सरकार, विपद् प्राधिकरण र प्रदेश मन्त्रालयको सहकार्यमा आगामी १० दिनभित्र गर्नसक्ने कार्यका लागि प्रमुख सचिवलाई निर्देशन दिएकोसमेत उनको भनाइ छ ।
सो अवसरमा प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राईले विपद्को घडीमा मृतकका परिवारलाई तत्काल सहयोग, घाइतेको निःशुल्क उपचार, बेपत्ताको खोजी र विस्थापितको पुनःस्थापना, बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।












Discussion about this post