विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य नीतिलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य ऐन चाँडै ल्याउने बताएका छन् ।
मुख्यमन्त्री कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्यका विषयमा प्रदेश सरकार गम्भीर रहेको चर्चा गर्दै ऐन ल्याएर अझ व्यवस्थित गरिने उल्लेख गरे । उनले स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरू संवेदनशील हुन आवश्यक रहेको बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज (आइतबार) उद्घाटन गर्दै उनले स्वास्थ्यकर्मीहरूले जनशक्तिको कमी, सीमित साधन स्रोतका बाबजुद नागरिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
स्वास्थ्य मन्त्रीकोसमेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा. महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिदैँ यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विचार राखे ।
तीन दिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालय अन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयहरूको सहभागिता रहेको छ ।












Discussion about this post