विराटनगर : विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो ।
मंगलबार महानगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अध्यक्ष पोखरेललाई सपथ गराएका थिए । त्यसलगत्तै अन्य पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरूलाई अध्यक्ष पोखरेलले सपथ गराए ।
त्यस्तै, मेयर कोइरालाले अध्यक्षसहित परिषद सदस्यहरूलाई मनोनयपत्र प्रदान गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर औद्योगिक र राजनैतिक नगरी मात्रै नभएर भाषा, कला, साहित्य र संस्कृतिको नगरी पनि भएको बताए ।
विराटनगरमा एक सय २२ भन्दा बढी विभिन्न जातजातिको बसोबास रहेको उल्लेख गर्दै उनले हरेकका आफ्नै भाषा र मौलिक संस्कृति रहेको चर्चा गरे । महानगरले भौतिक विकास सँगसँगै मानवीय विकासमा पनि ध्यान दिएको प्रस्ट पारे ।
‘महानगरपालिकाले सडक, भवनलगायत भौतिक संरचनाको विकाससँगै भाषा, साहित्य, कला र संंस्कृतिको विकासलाई पनि ध्यान दिएको छ,’ कोइरालाले भने, ‘सबै क्षेत्रको विकास गर्न सकिए मात्रै त्यो विराटनगरको दिगो विकास हुन्छ ।’
मेयर कोइरालाले विराटनगरको पहिचानलाई थप उचाइमा पु¥याउने गरी काम गर्न प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई आग्रह गरे ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले भाषा, साहित्य र कलाको विराटनगर उर्बर भूमि भएको चर्चा गरे । उनले प्रतिष्ठान गठनपछि भाषा, साहित्य र संस्कृतिको विकासले गति लिने विश्वास व्यक्त गरे । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले ऐन बनाएरै प्रज्ञा प्रतिष्ठान गठन गरेको जानकारी दिए । प्रतिष्ठानले लोप हुन लागेको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले विराटनगरले थुप्रै मूर्धन्य साहित्यकार र कलाकार जन्माएको बताए ।
उनले विश्वेश्वरप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, बालकृष्ण पोखरेल, कृष्णभूषण बल, चर्तुभूज आशावादी, माधव सापकोटालगायत दर्जनौं मूर्धन्य साहित्यकार जन्माएको बताउँदै विराटनगरको शाखलाई उच्च राख्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाए ।
उनले भाषा, साहित्य, कला र संस्कृतिको विकास बिना देशको विकास नहुने जिकिर गरे । ‘कुनै पनि देश समृद्धि हुन त्यस देशको भाषा, साहित्य र कलाको विकास हुनुपर्दछ,’ उनले भने, ‘भाषा, साहित्य देशको मुटु हो ।’
पोखरेलको अध्यक्षतामा गठिन प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, सदस्यसचिवमा दिङ्लाली कान्छो (दिनेशराज सुवेदी), सदस्यहरूमा माया पौडेल (नृत्य/गीत–संगीत), अनुराधा थापा (ललितकला), प्रा. भूषण ढुंगेल (भाषा), मधु पोखरेल (साहित्य), भैरव क्षेत्री (नाट्य/रंगमञ्च) र शिवनारायण पण्डित सिङ्गल (मातृभाषा) रहेका छन् ।
त्यस्तै प्रा.डा. हरिहर भण्डारी, लक्ष्मण नेवटिया, गोकुल अधिकारी, रामा मण्डल, हरि कट्टेल, भेषराज पोखरेल, रामबाबु दहाल, केशव रायमाझी, डा. विमला श्रेष्ठ, सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल र इन्द्र परियार परिषद् सदस्य रहेका छन् ।
सपथग्रहणपछि सबैलाई मेयर कोइराला, प्रमुख प्रशासकीय अधिकृत पराजुली र सामाजिक विकास समितिका संयोजक बस्नेतले अविर, टीका, माला र खादा लगाएर स्वागतसमेत गरे ।












Discussion about this post