इटहरी : नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई टिकट दिएको छ ।
आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा एमालेले विश्वासलाई उम्मेदवार बनाउने भएको हो ।
उनी एमाले ग्रामथान गाउँपालिका उपाध्यक्षसमेत हुन् । शनिबार बसेको सचिवालय बैठकले विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने टुंगो गरेको हो ।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने विश्वासलगायत तीन जनाको नाम सिफारिस गरेर पठाएका थिए । उनका अनुसार विश्वाससहित शिवनारायण माझी र निर्मला अधिकारीको नाम प्रदेश कमिटीलाई पठाइएको थियो ।
प्रदेशले केन्द्रमा पठाएपछि सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो ।
यसअघि नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्व वडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित भएका थिए ।
उनी राष्ट्रियसभाको निर्वाचनताका मत हाल्न विराटनगर गएकोबेला अचानक बेहोस भएर ढलेका थिए ।
उनको उपचारको क्रममा गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।














Discussion about this post