झापा : झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर ७ बस्ने अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ बस्ने अशोक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार गत शनिबार अपराह्न करिब साढे ४ बजे मुर्मु मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउको र चिउँडोमा कलको ह्यान्डल र फरुवा प्रहार गरी हत्या गरिएको थियो ।
हत्यामा संलग्नको तत्काल पहिचान भएको थिएन । तर, प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट गएको कुकुरसहितको टोलीले अनुसन्धानका क्रममा झापा गाउँपालिका–७ मदरगाछबाट उनीहरूलाई पक्राउ गरेको हो ।
कुकुरसहितको टोलीले अनुसन्धान क्रममा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले लुटिएको कलर्स मोबाइल एक थान, साइकल एक थान पनि बरामद भएको छ ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post