विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खरिद ऐन र कानुनी प्रक्रिया झन्झटिलो भएकाले कतिपय विकास निर्माणको कामलाई गति दिन नसकिएको बताएका छन् ।
अख्यिार दुरुपयोग अनुसन्धान आयोगले आयोगले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताले फास्ट ट्रयाकबाट काम चाहेको, तर खरिद ऐन र कानुनलाई सच्याउन नसक्दा समस्या भएको बताएका हुन् ।
कतिपय कानुनहरू झन्झटिला रहेको चर्चा गर्दै उनले ऐन, कानुन र प्रक्रियालाई सजिलो बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।
समाजमा इमान्दार मानिसहरू धेरै रहेको तर केही खराब मानिसहरूले गरेको एउटा खराब कामलाई ठूलो रूपमा प्रचार गर्दा समस्या उत्पन्न भइरहेको उनको जिकिर छ ।
उनले भने, ‘नकारात्मक भावनाको विकास भएको छ । राम्रो काम देख्दै नदेख्ने, तर एउटा खराब कामलाई लिएर प्रचार गर्ने प्रवृत्ति छ ।’
उनले अख्तियारले गरेका कामकोसमेत समीक्षा गर्ने बेला भएको बताए । उनले भने, ‘हामी जनप्रतिनिधिको कामको समीक्षा गर्छौँ । अब अख्तियारले आफ्नो कामको पनि समीक्षा हुनुपर्छ ।’
कतिपय अवस्थामा कानुनले दिएन भनेर काम नगर्ने तर कानुनले दिएको काम पनि नगर्ने प्रवृृत्तिमाथि पनि प्रश्न उठाउनुपर्ने आवश्यक्ता रहेको उनले बताए ।
कार्कीले संघीय संसदले यतिका समयमा पनि प्रदेशलाई चाहिने कानुन बनाउन नसकेको औल्याउँदै निजामती कर्मचारी ऐन लगायतका कानुन बन्नुपर्नेमा जोड दिए । कार्यक्रम आयोगका आयुक्त डा. हरि पौडेलको सभाध्यक्षमा सम्पन्न भएको थियो ।












Discussion about this post