धरान : धरान एक्स्पो–२०८१ अन्तर्गत आयोजित कृषि र पर्यटनसम्बन्धी दुई गोष्ठी सम्पन्न भएको छ ।
यी गोष्ठीहरूले स्थानीय उत्पादनलाई व्यवसायिक बनाउन, पर्यटन प्रवर्द्धनमा नयाँ दृष्टिकोण ल्याउन, र नवीनतम् प्रविधिहरूको प्रयोगबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
कृषि गोष्ठीमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने र आधुनिक प्रविधिको प्रयोगले उत्पादनशीलता बढाउने उपायहरूबारे चर्चा गरे।
उनले भने, कृषिमा युवाहरूको आकर्षण बढाउन र उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।
कार्यशालामा कृषि विज्ञ विष्णुप्रसाद काफ्लेले धरान वडा ४, ५, ६ र २० लाई कृषि उत्पादनका सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउनुपर्ने बताए ।
उनले अदुवा, बेसार, अम्लिसो, तेजपात, केरा, र कोदोजस्ता रैथाने बालीहरूको व्यवसायिक उत्पादनले किसानहरूको आय वृद्धि गर्न मद्दत गर्ने धारणा राखे ।
उनले भने, रैथाने बालीमा प्रचुर पौष्टिक तत्त्व पाइने भएकाले यी बालीहरूलाई संरक्षण र प्रवर्द्धन गर्न विशेष ध्यान दिनुपर्छ।
गोष्ठीमा नेपालको संविधान, राष्ट्रिय कृषि नीति २०६१, कृषि जैविक विविधता नीति २०६४, र कृषि विकास रणनीति २०१५ ले रैथाने बालीहरूको महत्वलाई उजागर गरेको चर्चा गरिएको थियो ।
साथै, सरकारको २०७५ देखि सुरु भएको प्राङ्गारिक कृषि प्रवर्द्धन मिसन अन्तर्गत रैथाने बाली प्रवर्द्धन अभियानले किसानहरूलाई थप सम्भावनाहरू सिर्जना गरिरहेको जनाइएको छ।
पर्यटन गोष्ठीमा कोशीका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले स्थानीय पर्यटन क्षेत्रको महत्वबारे बोले ।
उनले धरानको प्राकृतिक र सांस्कृतिक विविधतालाई प्रवर्द्धन गरेर यहाँको पर्यटनलाई नयाँ उचाइमा पुर्याउन सकिने बताए । मण्डलले भने, स्थानीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यसको मौलिकता र विविधतालाई उजागर गर्न जरूरी छ।
गोष्ठीमा सहभागी व्यवसायी, किसान, र पर्यटन व्यवसायका प्रतिनिधिहरूले आफ्ना अनुभव र धारणा राख्दै यस्ता कार्यक्रमले व्यावसायिक दृष्टिकोण फराकिलो बनाएको बताए।
धरान एक्स्पो माघ ८ गतेसम्म सञ्चालन हुनेछ । यसपटकको एक्स्पोमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका एक सय ४२ वटा स्टलहरूमा विभिन्न उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।
विशेषगरी, क्यालिबर सुजको सीमित अफर, जैविक सख्खर, र बम्पर अफरले ग्राहकहरूको ध्यान खिचेको छ।
आयोजक सुनसरी उद्योग वाणिज्य संघकाअनुसार एक्स्पोमा १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
Discussion about this post