धरान : पुस २५ गतेदेखि सुरु भएको धरान एक्स्पो–२०८१ आज माघ ८ गते समापन हुँदैछ ।
सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको एक्स्पोको समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी रहनेछन् ।
साथै, प्रदेशका अन्य विशिष्ट व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू, व्यवसायी, सुरक्षाकर्मी र समाजका विभिन्न क्षेत्रका अगुवाहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रमलाई सभ्य र व्यवस्थित बनाउन धरानका सुरक्षा निकायहरूले उच्च प्राथमिकता दिएका छन् ।
समापन समारोहको मुख्य आकर्षण चर्चित गायक कुमा सागरको विशेष प्रस्तुति रहनेछ । उनका लोकप्रिय गीतहरू सुन्ने उत्साहले दर्शकहरूको उपस्थिति उल्लेखनीय हुने अपेक्षा गरिएको छ ।
कुमा सागरको क्रेज धरानमा विशेष रहेकोले एक्स्पोको अन्तिम दिन थप जीवन्त बन्ने विश्वास गरिएको छ ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका एक सय ४२ वटा स्टल राखिएका थिए ।
जसले व्यापार र मनोरञ्जनको उत्कृष्ट संयोजन प्रस्तुत गरेको आयोजकको दाबी छ । एक्स्पोले करिब १० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको अनुमान गरिएको छ ।
एक्स्पोले व्यापारिक गतिविधिसँगै स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
Discussion about this post