धरान : पुस २५ गतेबाट सुरु भएको धरान एक्स्पो २०८१ आज समापन भएको छ ।
धरान–१६ स्थित रङ्गशालामा आयोजना गरिएको यस एक्स्पोलाई करिब तीन लाख दर्शकले अवलोकन गरेका थिए भने पाँच करोड रुपैयाँको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ।
उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन गरिएको एक्स्पोलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले समापन गरेका हुन् ।
मन्त्री भण्डारीले स्थानीय सरकारलाई प्रष्ट नीति निर्माण गरेर सहकार्यमा अघि बढ्न सुझाव दिएका छन् ।
उनले भने, ‘स्थानीय सरकार भएर आफ्नो ठाँउको स्पष्ट नीति के हो ? छुट्याएर अघि बढ्नुपर्छ । हचुवाको तालमा हिँड्न मिल्दैन ।’
साथै, उनले कोशी प्रदेश सरकारले धरानको खानेपानी समस्यालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानका लागि प्रदेश सरकारले तीनवटा डिप बोरिङ योजनामार्फत खानेपानी समस्याको समाधान गर्न ठोस कदम चालेको जानकारी दिए ।
यस्तै, धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघाले स्थानीय सरकारले यस्ता मेलामा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे।
एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले मेलाले धरानको व्यापारिक इतिहासलाई पुनः उजागर गर्दै स्थानीय उत्सवका रूपमा स्थापित भएको बताए ।
उनका अनुसार एक्स्पोले आर्थिक संकटको सामना गरिरहेका व्यवसायीहरूलाई राहत दिने काम गरेको छ ।
सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोले रैथाने उत्पादनको प्रवर्द्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।
एक्स्पोले व्यापारिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण छाप छोड्दै धरानको आर्थिक गतिलाई पुनर्जीवित गर्न सफलता पाएको आयोजकको दाबी छ ।
Discussion about this post