धरान : धरान उपमहानगरपालिका ३ गौधारा स्थितबाट मेडिकल सञ्चालक दम्पती र धरान ८ स्थितबाट अर्का एक दम्पतीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
मेडिकल पसलमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसलभित्र खानतलासी गर्दा काटुनमा लुकाईछिपाई राखेको अवस्थामा ४१ वर्षीय सुरज वनेम र उनकी श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नियन्त्रित औषधी ट्रामोल दुई हजार क्याप्सुल र स्पास्पेन सात हजार नौ सय ३० ट्याब्लेट बरामद गरिएको हो । उनीहरू मेडिकल सञ्चालक रहेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
यसैगरी धरान ८ का ३१ वर्षीय सन्तोष परियार र उनकी श्रीमती २० वर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post