धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो ट्युमर निकालिएको छ ।
३९ वर्षीया एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० से.मी. आकारको ट्युमर शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको हो ।
मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वको टोलीले गरेको हो ।
सामान्यतया: डिम्बाशयको ट्युमर भन्नाले महिलाहरुमा प्रजनन् अङ्गको रूपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रूपमा बढ्दै जानु हो ।
महिलाहरूमा सामान्यतयाः यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहेको अवस्थामा हुन्छ ।
डिम्बाशयको ट्युमर प्राय क्यान्सररहित अवस्था, क्यान्सर हुनसक्ने अवस्था र क्यान्सर भएको अवस्थाका हुन्छन् ।
चार महिनादेखि हिँड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक अवस्थासमेत नाजुक भएकी ती महिला आफ्नो उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन् ।
तर आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले प्रतिष्ठानमा आएको उनका श्रीमानले बताए ।
महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा अचला ठाकुरको सिफारिसमा प्रतिष्ठानले सबै परिक्षणहरू, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजीत कुमारले जानकारी दिए ।
जटिल मानिने शल्यक्रियामा डा. श्रेष्ठसहित उक्त विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोष कुमार झा, डा. ऋचा भट्टराईको टोली खटिएको थियो ।
त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा उनको टिमको पनि संलग्नता रहेको थियो ।
ती महिलाका श्रीमानले उपचार नै गर्न असम्भवजस्तो लागेको रोगको शल्यक्रिया गरी पुनः पुरानै अवस्थाको जस्तो तन्दरूस्त बनाइदिएकोमा सम्बन्धित सम्पूर्णलाई धन्यवाद दिए ।














Discussion about this post