इटहरी : इटहरीमा जारी मेयर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा इटहरी उपमहानगरपालिका रातो सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा सोमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा इटहरीले मोरङको कटहरी गाउँपालिकामाथि ३३ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
इटहरीले १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको कटहरी १८ ओभर खेल्दै १ सय २२ रनमा अलआउट भयो । कटहरीका लागि नीरज मुखियाले सर्वाधिक ३४ रन बनाए ।
२३ बलको सामना गरेका उनले २ छक्का र ५ चौकाको मतमा ३४ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।
कृष्णकुमार शहनीले २६ रन बनाउँदा प्रेम कामतले १४ र सचिन मुर्मुले १२ रनको योगदान दिए । इटहरीका अनिष कुँवरले ४ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल खडा गरेको थियो ।
इटहरीको इनिङमा रितेष रायले सर्वाधिक ३२ रन बनाए । २८ बलको सामना उरेका उनले ६ चौकाको मदतमा ३२ रन बनाएका हुन । गौरव कटुवालले २६ रन बनाए ।
२१ बलको सामना गरेका कटुवालले २ छक्का र २ चौका प्रहार गरे । सुमन गहतराज र अनीश कुवरले समान २१ तथा जोसक खड्काले १३ रन बनाए ।
कटहरीका प्रेम कामतले ५ विकेट लिए । खेलको म्यान अफ दि म्याच इटहरीका अनिष कुँवर घोषित हुँदै नगद एक हजार पाँच सय पुरस्कार पाए ।
सोमबार नै सम्पन्न दोस्रो खेलमा इलामको माई नगरपालिकाले सुनसरीको रामधुनी नगरपालिकालाई ५ विकेटले पराजित गरेको छ ।
रामधुनीले प्रस्तुत गरेको १ सय १६ रनको विजयी लक्ष्य माई नगरपालिकाले १६ दशमलव ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
माई नगरपालिकाको लागि अनिल लामिछानेले ३४ रन बनाउँदा आश्विन कामतले २५ र प्रज्वल खत्रीले नकआउट २० रन बनाए । रामधुनीका अङ्कित गुरागाईँ र सेमन्तराज रेग्मीले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राम धुनी नगरपालिकाले सेमन्तराज रेग्मीको ५६ रनको मदतमा १ सय १५ रनको योगफल खडा गरे पनि जीत निकाल्न सकेन । खेलको म्यान अफ दि म्याच माई नगरपालिकाका प्रज्वल खत्री घोषित हुँदै नगद एक हजार पाँच सय प्राप्त गरे ।
दोस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगितामा १८ वटा पालिकाका टिम सहभागी छन् । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post