इटहरी : इटहरीमा जारी मेयर कप क्रिकेट प्रतियोगिताको आइतबार फाइनल खेल हुने भएको छ ।
अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि इटहरी उपमहानगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको हो ।
इटहरी ९ स्थित जनता क्रिकेट खेल मैदानमा शनिवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा विराटनगरले दमक नगरपालिकालाई ८ विकेटले पराजित गर्दै इटहरीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
इटहरीले शुक्रबार इलामको माई नगरपालिका माथि ४२ रनको जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो ।
शनिबार दमकले प्रस्तुत गरेको ९० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १० दशमलव ५ बलमा २ विकेट गुमाउँदै सहजै पूरा गर्यो । विराटनगरका लागि मिनस थापाले नट आउट ३८ र चिराग शाहले २० रन बनाएर टिमलाई जिताए ।
त्यसअघि सकिब हकले १० रन बनाउँदा विराटनगरले अतिरिक्त १४ रन उपहार पाएको थियो । दमकको लागि दुवै विकेट छविलाल खड्काले लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दमकले निर्धारित २० ओभरमा १८ दशमलव ३ बल खेल्दै ८९ रन मात्र बनाउन सकेको थियो ।
दमकको इनिङमा हिमांशु गिरीले २४, सुगम बुढाथोकीले २१ र अविनाश सिंहले १० रन मात्र बनाउन सके ।
विराटनगरका अमर यादवले ४ विकेट लिँदा कृतिक कामतले २ विकेट हात पारे ।
खेलको म्यान अफ दि म्याच विराटनगरका अमर यादव घोषित हुँदै नगद एक हजार पाँच सय प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार पाउने आयोजक सेभेन स्टार क्लबले जनाएको छ । प्रतियोगितामा १८ वटा टिम सहभागी थिए ।
Discussion about this post