विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताएका छन् ।
सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक माझ चौमासिक अन्तरक्रिया कार्यक्रम तथा नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले मुलुकका अन्य ठाउँमा मात्रै होइन विराटनगरमा पनि धेरै राम्रा सहकारी भएको बताए ।
उनले सबै सहकारीलाई एउटै डालोमा राखेर हेर्न नहुनेमा जोड दिए ।
‘सहकारीको मर्म र भावनाअनुसार सञ्चालित थुप्रै सहकारीहरू छन् । उनीहरूले बचतकर्ता र ऋणी दुवैलाई सेवा प्रवाह गरिरहेका छन्,’ उनले भने, ‘तर केही सहकारीका कारण उनीहरू सबैको बदनाम भइरहेको छ ।’
मेयर कोइरालाले सहकारीहरूबीच असल कार्य गर्ने विषयमा प्रतिस्पर्धा हुनु आवश्यक रहेको औंल्याए ।
‘सहकारीहरूमा असल अभ्यास पनि भएका छन्,’ कोइरालाले भने, ‘राम्रो अभ्यास र काम गर्ने सहकारीबाट अन्य सहकारीले पनि पाठ सिक्नुपर्छ ।’
विराटनगरमै पनि उत्कृष्ट सहकारीहरू सञ्चालनमा रहेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरभित्रका सहकारीलाई अझै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले सहकारीलाई प्रविधिमैत्री बनाउँदै पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
वडा नम्बर १९ का अध्यक्षसमेत रहेका सामाजिक विकास समितिका संयोजक श्याम घिमिरेले महानगरले सहकारीलाई व्यवस्थित र पारदर्शी तथा जवाफदेही बनाउन बेला–बेला अनुगमन गर्ने गरेको सुनाए । उनले गलत गर्ने सहकारीलाई कारबाहीसमेत गर्ने गरेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सहकारी रजिष्टार कार्यालयका हरिबहादुर खत्री, महानगरको आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलालगायतले सहकारीको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियापछि आयोजित नेपाल लेखा मापदण्ड (एनएएस) सम्बन्धी प्रशिक्षणसमेत आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरूलाई सीए सुरज तिम्सिनाले सहजीकरण गरे ।
सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार महानगरको क्षेत्राधिकारभित्र एक सय ७२ वटा सहकारी सञ्चालनमा रहेका छन् ।
त्यसमध्ये हालसम्म ६१ वटाको अनुगमन, १२५ वटा सहकारीले नियमित वित्तीय वितरण बुझाएको, एक सय १० वटा सहकारीले शेयर सदस्यहरूको विवरण पठाएको राईले जानकारी दिए ।
त्यस्तै एक सय १७ वटा सहकारीले साधारणसभाको प्रतिवेदन बुझाएका छन् । व्यवस्थापन सूचना प्रणाली (कोकोमिस) मार्फत सहकारीको कारोबारलाई व्यवस्थित बनाउने भइरहेको उनले बताए ।
Discussion about this post