विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम, कार्यक्रमको पोको र बजेट होइन भन्ने सन्देश अहिलेको नीति कार्यक्रमले दिएको बताएका छन् ।
उनले यसपटकको नीति तथा कार्यक्रम छोटो छरितो र सबै विषयलाई समेट्ने खालको भएको बताउँदै यो नीति तथा कार्यक्रमले सहअस्तित्व सहकार्य र एकतालाई जोड दिएको बताए ।
आइतवार (आज) प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको नीति कार्यक्रमले प्रदेशमा आर्थिक उन्नति र र आन्तरिक आय बढाउन जोड दिएको उल्लेख गरे ।
नीति कार्यक्रमले दोस्रो आवधिक योजनाको लक्ष्य र प्रदेश सरकारले लिएको दीर्घकालीन लक्ष्यलाई समेत समेटेको उनले उल्लेख गरे । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे समझदारी हुँदै बनेको सरकारले सातवटा मूलभूत समस्याको समाधान गर्न सुरु गरेको बताए ।
उनले समस्याहरू समाधान गर्दै सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे ।
१० महिनाको अन्तरालमा बिग्रिएको आर्थिक अवस्था ट्र्याकमा ल्याउनु मात्रै होइन, निर्यात प्रवर्द्धनजस्ता क्षेत्रहरूमा पनि उल्लेखनीय सफलता हासिल भएको उनले बताए ।
कार्कीले विकासका राम्रा नीतिहरूप्रति सकारात्मक समर्थन जनाउनु स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “कुनै व्यक्तिले, संस्थाले वा दलले सरकारले अघि सारेका राम्रा योजनाको समर्थन गर्नु भनेको सरकारको नेतृत्व गरिरहेका व्यक्तिहरू बन्ने चाहना देखाउनु होइन। यो सामान्य प्रक्रिया हो।”
नीति, कार्यक्रम र बजेटबीचको सम्बन्धबारे स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले भने, “नीति र कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसैको कार्यान्वयनका लागि साधन हो । पछिल्ला आठ वर्षमा आठवटा नीति तथा कार्यक्रम आइसकेका छन्। त्यसमा निरन्तरता र स्थायित्व जरूरी छ।”
उनले इतिहासको संरक्षण गर्दै भावी पुस्तालाई जानकारी दिन पनि ती संरचनाको संरक्षण गर्न आवश्यक रहेको उनले बताए ।














Discussion about this post