विराटनगर : काेशी प्रदेशसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०८२।८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल समाप्त भएको छ।
छलफलमा विभिन्न सांसदले उठाएका जिज्ञासाहरूको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जवाफ दिएका थिए।
मन्त्री मगरले आगामी वर्षको बजेट यथार्थपरक रहेको दाबी गर्दै स्रोत र राजस्वको यथोचित अनुमानका आधारमा बजेट तयार पारिएको जानकारी दिए।
उनका अनुसार, वन क्षेत्र र नदीजन्य पदार्थबाट मात्रै १ अर्ब रुपैयाँ राजस्व संकलन हुने अपेक्षा गरिएको छ।
मन्त्री मगरले विगतमा दिइएको कृषि अनुदानले वास्तविक कृषकलाई लाभ नपुगेको स्वीकार्दै अब कृषकलाई ब्याजमा अनुदान दिने नीति अवलम्बन गरिएको बताए।
उनले चालु आवको चैत मसान्तसम्म पुँजीगत खर्च ४७ प्रतिशत रहेको उल्लेख गर्दै असार मसान्तसम्म ८० प्रतिशत पुग्ने अपेक्षा रहेको पनि जानकारी दिए।
यातायात क्षेत्रबाट अपेक्षित राजस्व उठ्ने विश्वास व्यक्त गर्दै मन्त्री मगरले अघिल्लो वर्षका योजना निरन्तरता दिने नीति लिएर सरकार अघि बढेको बताए।
सामाजिक सुरक्षा कोषका कारण चालु खर्च बढेको स्वीकार गर्दै स्थानीय तहसँगको साझेदारी र समन्वयमा काम भइरहेको उल्लेख गरे।
भौतिक पूर्वाधार तथा सामाजिक विकासमन्त्री भूपेन्द्र राईले संघीय सरकारले प्रदेश सरकारका योजनाप्रति बेवास्ता गरेकोप्रति असन्तोष व्यक्त गरे।
उनले दातृ निकायहरू समेत प्रदेश संरचना बलियो हुनुपर्ने धारणा राखिरहेको अवस्थामा संघले त्यसलाई कमजोर इकाईजस्तो हेर्नु गलत भएको बताए।
बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू कमलप्रसाद जबेगु, राजेन्द्र कार्की र रमेशकुमार बस्नेतले आ–आफ्नो धारणा राखेका थिए।
प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने कार्यतालिका तय भएको छ।














Discussion about this post