प्रेस युनियन सुनसरीले समस्यामा रहेका पत्रकारहरुलाई खाद्यान्न अभाव नहोस् भनेर सञ्चालन गरेको फुड बैँकमा सहयोग जुट्न थालेको छ ।
फुड बैँकका संयोजक तथा प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीका अनुसार सुनसरीमा रहेका सक्रिय पत्रकारहरुलाई खाद्यान्नमा अभाव नहोस् भनेर प्रेस युनियन सुनसरीले फुड बैँक सञ्चालन गरेको हो ।
सहयोग गर्न सक्ने पत्रकारले सहयोग गर्ने र अभावमा रहेका पत्रकारहरुले सहयोग लिने कार्यक्रम हो यो, अधिकारीले भने, यहाँ विशुद्ध पत्रकारले नै सहयोग गर्ने हो हामीले अन्य मानिसहरुबाट सहयोग उठाउने होइन ।
उनले पत्रकारले दिएको खाद्यान्न समस्यामा रहेका पत्रकारलाई नै हस्तान्तरण गरिने जानकारी दिए ।
नेपाल प्रेस युनियन मोरङ, हाम्रो मत दैनिक, एरिना टिभी, सप्तकोसी एफ.एम, बिजयपुर एफ.एम सहित विभिन्न पत्रकार सम्बद्ध जिल्लामा क्रियाशिल संस्थाहरुबाट समेत उल्लेख्य सहयोग जुट्दै गरेको उनले बताए ।

नेपालमा नै पहिलोपटक पत्रकारका लागि फुड बैँक अभियान प्रेस युनियन सुनसरीले सञ्चालन गरेको थियो ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार अहिले मोरङका सक्रिय पत्रकारहरुले समेत खाद्यान्न सहयोग गरिरहेका छन् ।
उनका अनुसार सहयोग गर्ने पत्रकारको नाम सार्वजनिक गरिएपनि सहयोग लिनेको नाम भने गोप्य राखिनेछ ।
सुनसरीमा सक्रिय रहेका पत्रकारलाई खाद्यान्न आवश्यक परे सम्पर्क गर्न समेत अपिल गरिएको अधिकारीले बताए । उनले लकडाउनका कारण कोही पनि पत्रकार भोकै बस्न नदिनका लागि उक्त अभियान सुरु गरिएको बताए ।
Discussion about this post