धरान : धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले प्रस्तावित दीर्घकालीन खानेपानी योजनामा एशियाली विकास बैंक (एडीबी)बाट ऋण नलिने स्पष्ट पारेका छन्।
खानेपानी तथा ढल निकास विभागमार्फत खानेपानी मन्त्रालयमा पठाइएको औपचारिक पत्रमा साम्पाङले सो योजना राष्ट्रिय आम्दानीबाटै अगाडि बढाउनु पर्ने धारणा व्यक्त गरेका छन्।
उक्त योजनाअन्तर्गत कम्तीमा ३० वर्षका लागि धरानलाई खानेपानीको दीर्घकालीन समाधान दिने उद्देश्यसहित सप्तकोशी नदीबाट पानी ल्याउने तयारी भइरहेको छ।
सोही योजनाका लागि नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड रुपैयाँ विनियोजन गरिसकेको नगरप्रमुख साम्पाङले पत्रमा उल्लेख गरेका छन्।
तर बाँकी लागत विदेशी ऋणबाट जुटाउने तयारी भइरहेका सन्दर्भमा साम्पाङले आपत्ति जनाएका छन्।
“देशलाई विदेशी ऋणको भारी थप्नु उचित हुँदैन,” पत्रमा उल्लेख गर्दै उनले भनेका छन्, “पहिले लिएको एडीबीको ऋण अझै तिर्न बाँकी छ, त्यसैले नयाँ ऋण थप्नु गलत हुनेछ।”
साम्पाङले वैकल्पिक रूपमा स्थानीय स्रोतहरू, खोलानाला तथा प्राकृतिक जलस्रोतको उपयोग गरी पानी आपूर्ति गर्ने उपाय खोज्न सकिने स्पष्ट पारेका छन्।
नगरप्रमुख साम्पाङले पठाएको उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पठाइएको छ।















Discussion about this post