धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवाद थप चुलिएको छ।
श्रमदानमा आधारित एक योजनाको भुक्तानी रोकिएको विषयलाई लिएर मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईँसँग लिखित स्पष्टीकरण मागेका छन्।
मेयर साम्पाङले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमार्फत धरान-३ स्थित बहुभाषिक पाठशाला नजिक तटबन्ध निर्माणमा तारजाली लगाउने कार्यको भुक्तानी किन रोकिएको भनी प्रश्न गरेका छन्।
मेयर साम्पाङले अन्य योजनाको भुक्तानीमा पनि यस्तै अवस्था आएको खण्डमा उत्पन्न हुने असहज परिस्थिति कसरी समाधान गर्ने भन्नेबारे लिखित जवाफ दिन निर्देशन दिएका छन्।
यसबीच, मेयर साम्पाङमाथि सो योजना अन्तर्गत ‘डोर हाजिरी’ फाराममार्फत आफ्ना निकटवर्ती व्यक्तिहरूलाई रकम दिन खोजेको आरोप लागेको छ।
सोही आरोपका आधारमा उपमेयर बेघाले योजनाको रकम निकासा रोक्न निर्देशन दिएका थिए। उपमेयर बेघा अनुगमन समितिका संयोजकसमेत हुन्।
उक्त विवादले धरान उपमहानगरपालिकाभित्र गम्भीर शक्ति संघर्ष चुलिएको देखिएको छ।















Discussion about this post