इटहरी : धार्मिक तथा सांस्कृतिक पर्वहरूलाई लक्षित गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयले कुनै पनि जाति, धर्म, सम्प्रदाय वा समुदायले पर्व मनाउने क्रममा हतियारसहितको प्रदर्शन नगर्न निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित सूचनाअनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न पर्वहरू मनाउने क्रममा जिल्लामा शान्ति, सुव्यवस्था, मर्यादा र सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि किसिमका घरेलु हतियारजस्तै तरबार, खुकुरी, भालाजस्ता वस्तुहरू सार्वजनिक स्थलमा बोकी नआउन र प्रदर्शन नगर्न/नगराउन निर्देशन दिइएको हो।
सूचनामा सार्वजनिक स्थलमा एकल वा समूहमा धार्मिक आस्थाका आधारमा अनुशासनहीन गतिविधि नगर्न पनि आग्रह गरिएको छ। यस्ता कार्यले जिल्ला प्रशासनको अनुमति विना गरिएमा कानुनी कारबाही हुने जनाइएको छ।
जिल्लाको शान्ति सुरक्षा तथा आपसी सद्भाव कायम राख्न यस्ता कदमहरू चालिएको प्रजिअ मिश्रले जानकारी दिए।















Discussion about this post