भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ।
भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले एकै परिवारका चार जनाको हत्या गरेका हुन्।
उनी आफ्नी श्रीमती मनिषा गिरीलाई लिन ससुराली पुगेका थिए । तर, पारिवारिक विवादका कारण घटनाले ज्यानै लिने अवस्था बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
राईले आफ्नी श्रीमती १५ वर्षीय मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीय मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मनिषासँगको वैवाहिक सम्बन्धमा पछिल्लो समय दरार आएको थियो ।
हत्याअघि भएको विवादका क्रममा सासू मञ्जु गिरीले छुरा प्रहार गरेको दाबी गर्दै राजेन्द्रले आफू ‘आक्रोशमा आएर सबैको हत्या गरेको’ प्रारम्भिक बयान दिएका छन्। प्रहरीले घटनास्थलबाट घातक हतियार बरामद गरेको छ।
चारै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। हाल राजेन्द्र प्रहरी नियन्त्रणमा छन् । घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ।
घटनापछि राजेन्द्र पनि घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
‘आज रातिको घटना हो । ससुराली आएको मानिसले पारिवारिक कारणले हत्या गरेको खुलेको छ,’ स्थानीय आनन्द भुजेलले फोन सम्पर्कमा टाकुरा न्यूजसँग भने, ‘घटनाको कारण भने खुलिसकेको छैन। के कारण र ठ्याक्कै कति बजे घटना भएको नखुलेपनि आज राति भएको घटनाले गाउँ नै विक्षिप्त बनायो।’
उक्त ठाउँ साबिक धोद्लेखानी गाविस ७ नं. वडा पर्छ।














Discussion about this post